काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तत्काल राजीनामा माग गरेका छन्।
जेन-जी आन्दोलनबारे मङ्गलबार सार्वजनिक गरिएको १६ बुँदे विश्लेषणमार्फत शर्माले पार्टीको मूल नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेका हुन्। उनले एक वर्षदेखि नै पार्टी पुनर्निर्माणका लागि नेतृत्व हस्तान्तरणको माग गर्दै आएका थिए।
१६ बुँदामा के छ?
1. जेन-जी आन्दोलनले भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमाथि प्रहार गरेकाले सकारात्मक संश्लेषण गर्नुपर्ने।
2. दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलाली उजागर भएकाले नयाँ बाटो खोल्नुपर्ने।
3. वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्ने।
4. पार्टीभित्र सम्पत्ति छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने।
5. २०४६ पछि पदमा बसेकासहित सबैको सम्पत्ति छानबिन र आन्दोलनमा भएको जनधन क्षतिको उच्चस्तरीय अनुसन्धान।
6. पार्टीको मूल नेतृत्व (प्रचण्ड)ले तत्काल राजीनामा दिनुपर्ने।
7. नेतृत्व निर्वाचनलाई प्रत्यक्ष निर्वाचित मोडेलमा लैजानुपर्ने।
8. पदावधि र कार्यकाल स्पष्ट गर्ने ठोस नीति बनाउने।
9. पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत संसद् निर्माण गर्ने।
10. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने।
11. दलित, महिला लगायतका समस्याको समाधानका लागि स्पष्ट दृष्टिकोण बनाउने।
12. यौन अराजकता र सांस्कृतिक विचलनबारे छानबिन गर्ने।
13. शहीद, बेपत्ता परिवार, घाइते र अशक्तहरूको संरक्षण नीति बनाउने।
14. श्रम र उत्पादनमार्फत स्वरोजगार अभियान सुरु गर्ने।
15. राष्ट्रियताको संरक्षणका लागि पार्टीलाई सतर्क राख्ने।
16. उपर्युक्त लक्ष्य पूरा गर्न सोअनुसारको संगठन पुनर्गठन गर्ने।










