जिरी मानेडाँडामा स्थानीयकै पहलमा सरसफाइ अभियान सुरु

नबिन सुनुवार,दोलखा

दोलखाको चर्चित पर्यटकीय गन्तव्य जिरी मानेडाँडामा स्थानीयवासी आफैं जुटेर सरसफाइ अभियान सुरु गरेका छन् । क्लिन जिरी, ग्रीन जिरी र अर्गानिक जिरी अभियानलाई थप बल पुर्‍याउने उद्देश्यले शनिबारबाट सरसफाइ कार्यक्रम आरम्भ गरिएको हो ।

स्थानीयहरूको सक्रियतामा सुरु गरिएको अभियान अन्तर्गत मानेडाँडा आसपासका सडक, बजार र सार्वजनिक स्थानमा थुप्रिएको फोहोर संकलन गरिएको छ । यसअघि देखिएको फोहोर व्यवस्थापन समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न अबदेखि हरेक महिनाको दोस्रो हप्ताको शनिबार सरसफाइ अभियान नियमित रुपमा सञ्चालन गर्ने निर्णय भएको स्थानीय गोपाल जिरेलले जानकारी दिए ।

शनिबार विदाको सदुपयोग गर्दै स्थानीय बासिन्दा र व्यापारी सबैलाई अभियानमा सहभागी हुन टोलबासीका प्रतिनिधि चन्द्र काफ्लेले आग्रह गरेका छन् । पहिलो दिनमै करिब ८० जना भन्दा बढी स्थानीयवासी सक्रिय रुपमा सहभागी भएको स्थानीय मिरा कार्कीले बताइन् ।

उनका अनुसार, सरसफाइ अभियानले बजार मात्र नभई सम्पूर्ण मानेडाँडा क्षेत्रमा सफाइको वातावरण बनाउन योगदान गर्नेछ । पर्यटन विकासमा समेत सरसफाइ अभियान महत्वपूर्ण रहने भन्दै उनले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

स्थानीयवासीका अनुसार हाटडाँडा पर्यटकको मुख्य आकर्षणस्थलमध्ये एक हो, तर पछिल्ला वर्षहरूमा फोहोर व्यवस्थापनको चुनौती बढ्दै गएको थियो । यसलाई समाधान गर्न स्थानीय आफैं अगाडि बढ्नु सकारात्मक पहलका रूपमा लिइएको छ ।

SHARE