बी डी त्यागी सम्मान तथा पुरस्कारका लागि पाँच प्रतिभा चयन

बी डी त्यागी स्मृति केन्द्रले बाइसौं त्यागी स्मृति दिवसको अवसर पारेर नेपाली साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान गरेका पाँच प्रतिभालाई बी डी त्यागी स्मृति सम्मान तथा पुरस्कार समर्पण गर्ने भएको छ । केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पाँच जना प्रतिभा छनोट गरेको हो ।

वरिष्ठ साहित्यकार प्राध्यापक जगतप्रसाद उपाध्याय प्रेक्षीतलाई बी डी त्यागी स्मृति सम्मान २०८२, वरिष्ठ साहित्यकार किरण आचार्यलाई १०१ सिक्काको थैली रहेको बी डी त्यागी स्मृति पुरस्कार २०८२, वरिष्ठ पत्रकार तथा साहित्यकार निर्मलकुमार आचार्यलाई बी डी त्यागी योगदान सम्मान २०८२ र साहित्यकार रुपा रिसाललाई बी डी त्यागी प्रतिभा सम्मान २०८२ समर्पण गरिने भएको हो ।

यस्तै नै साहित्यकार नभएर पनि साहित्यको विकासमा महत्त्वपूर्ण योगदान गर्नुहुने व्यक्तित्वलाई प्रदान गरिने बी डी त्यागी नेपथ्य सम्मान साहित्यकार घटराज भट्टराईको नाममा स्कुल, क्लिनिक र स्मारक कोष स्थापना गरी शिक्षा, स्वास्थ्य र साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएका डा. राजेशराज भट्टराईलाई बी डी त्यागी नेपथ्य सम्मान २०८२ समर्पित गर्ने बैठकले निर्णय गरेको छ ।

वरिष्ठ उपन्यासकार शङ्कर भारती संयोजक तथा वरिष्ठ साहित्यकारहरु त्रिलोचन आचार्य र दुर्गा अधिकारी भमरकोटे सदस्य रहेको तीन सदस्यीय प्रतिभा चयन समितिले सिफारिस गरेको नामावलीलाई बैठकले अनुमोदन गरेको जनाइएको छ । आगामी वैशाख १८ गते एक विशेष समारोहमा यी सम्मान तथा पुरस्कार अर्पण गरिने केन्द्रका महासचिव साहित्यिक पत्रकार निबन्ध आचार्यले जानकारी दिए ।

१०८ स्वामी गोपलानन्द गिरी परिचयात्मक काव्य, बन्द झ्यालको शीशाभित्र कथा सङ्ग्रह, उत्पात उपन्यास, वैराग्य नाटक, आफ्नै स्वरमा रेकर्ड गरिएको कविता एल्बम शुभेच्छा, अठार अध्याय गीता महात्म्य, धोती न टोपी लोक कथा सङ्ग्रह, सम्मृद्धि सपना उपन्यास र चार थुम्का उपन्यास सङ्ग्रह प्रकाशित गरिसकेका साहित्यकार बी डी त्यागीको २०६० साल वैशाख १९ गते बिहान पशुपति ब्रम्हनालमा स्वर्गारोहण भएको थियो ।

त्यागीका परिवारले स्थापना गरेको बीडी त्यागी स्मृति केन्द्रले २०६१ मा उपन्यासकार शङ्कर भारतीलाई बी डी त्यागी स्मृति पुरस्कार २०६१ र धार्मिक लेखक नवराज पौडेललाई बी डी त्यागी स्मृति सम्मान २०६१ समर्पण गरेर सुरुवात गरी निरन्तर रुपमा हरेक वर्ष प्रदान गर्दै आएको यी सम्मान पुरस्कारबाट सय भन्दा बढी व्यक्तित्वहरु सम्मानित तथा पुरस्कृत भइसकेका छन् ।

SHARE