‘मैझारो’ ट्रेलर सार्वजनिक : प्रेम, संघर्ष र सामाजिक यथार्थको कथा

काठमाडौँ । कलाकार तथा निर्देशक विल्सन बिक्रम राई (तक्मेबुढा) द्धरा निर्देशित नयाँ नेपाली फिल्म ‘मैझारो’ को ट्रेलर सार्वजनिक गरिएको छ।

मंगलबार सार्वजनिक गरिएको ३ मिनेट ४९ सेकेन्ड लामो ट्रेलरमा प्रेमका लागि गरिने संघर्ष र त्यसबाट उत्पन्न हुने सामाजिक तथा पारिवारिक द्वन्द्वलाई केन्द्रमा राखिएको छ। ट्रेलरले फिल्मले भावनात्मक, रोमान्टिक र यथार्थमा टेकेको कथा प्रस्तुत गर्ने संकेत दिएको छ।

फिल्ममा धीरज मगर र मिरूना मगर मुख्य भूमिकामा छन्। उनीहरूबीचको प्रेम र त्यसका कारण सिर्जित चुनौतीले कथा अगाडि बढ्ने देखिन्छ। साथै, दयाहाङ राई, दीया पुन र निर्देशक स्वयं विल्सन बिक्रम राईको अभिनय पनि ट्रेलरमा समेटिएको छ।

यसअघि सार्वजनिक टिजरमा दयाहाङ र विल्सन नदेखिए पनि ट्रेलरमा उनीहरूको उपस्थिति कथाको मुख्य मोड परिवर्तन गर्ने पात्रका रूपमा प्रस्तुत गरिएको बुझिन्छ।

तक्मे प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा बुद्धि तामाङ, सुनील थापा, पुष्कर गुरूङ, अभयराज बराल, माओत्से गुरूङ, कविता आले, रजनी गुरूङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुलगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिन्छ।

फिल्मको छायांकन सौरभ लामाले गरेका हुन् भने मित्र डी. गुरूङले सम्पादन गरेका छन्। ट्रेलरमा प्रयोग भएका दृश्य र संवादहरूले फिल्मले स्थानीय संस्कृति, वर्गीय विभेद र प्रेमको सार्वभौमिक भावनालाई एकसाथ प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ।

फिल्म तिहारको भाइटीकाको भोलिपल्ट, कात्तिक ७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ। निर्माण टिमले फिल्मलाई “मन र माटोको कथा” भनेर प्रचार गरिरहेको छ।

SHARE