काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्की र जेनजीका प्रतिनिधिहरूसँग बिहीबार शितल निवासमा छलफल गरेका छन्।
साँझ साढे ६ बजेबाट सुरू भएको उक्त छलफलमा जेनजी तर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरूषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी थिए।
छलफलमा आगामी निर्वाचनलाई निष्पक्ष, समावेशी र शान्तिपूर्ण बनाउनुपर्ने विषयमा जोड दिइएको स्रोतले जनाएको छ। यसअघि राष्ट्रपति र प्रधानमन्त्रीले राजनीतिक दलका प्रतिनिधिहरूसँग पनि यस्तै परामर्श गरेका थिए।
शितल निवासमा भएको यो भेटलाई सरकार र नयाँ पुस्ताबीचको संवाद र सहकार्यको संकेतका रूपमा हेरिएको छ। राष्ट्रपति पौडेलले सबै पक्षलाई लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्दै साझा उद्देश्यका लागि सहमति र संयम अपनाउन आग्रह गरेको स्रोतले बताएको छ।










