स्थानीयद्वारा हाटडाँडा क्षेत्रको बृहत  सरसफाई , नगरपालिकाद्वारा सहयोग

नबिन सुनुवार । (जिरी) दोलखा – दोलखाको जिरी नगरपालिका – ६ स्थित हाटडाँडाका स्थानीयबासी सरसफाइ अभियानमा जुटेका छन् ।

“स्वच्छ, सफा र सुन्दर हाटडाँडा निर्माण हाटडाँडा बासिको अभियान” भन्ने मुख्य उद्देश्यका साथ हाटडाँडा बोइज क्लब (HBC) हाटडाँडा समन्वय समितीले सरसफाइ अभियानलाई तीव्रताका साथ अघि बढाएका हुन् ।

सनिवार एक बृहत सरसफाइ कार्यक्रमको आयोजना गर्दै जिरी नगरपालिका र स्थानीय समुदायबीचको सहकार्य, विश्वास र साझेदारी एक महत्वपूर्ण उदाहरण रहेको भन्दै हाटडाँडा बजार क्षेत्र तथा मानेडाँडा पार्क क्षेत्रको सरसफाइ, स्वच्छता, स्वास्थ्य र सुन्दरतालाई दीगो रूपमा कायम राख्ने उद्देश्यका साथ टोलवासीहरू एकजुट भई प्रत्येक महिनाको पहिलो हप्ताको शनिबार सरसफाइ अभियान सञ्चालनमा अघि बढ्ने गरेको हाटडाँडा बोइज क्लब (HBC) हाटडाँडा समन्वय समितीले जनाएको हो ।

गत असोज १ गते बसेको स्थानीय नागरिकहरूको बैठकले सरसफाइ अभियानलाई प्रभावकारी बनाउन आवश्यक सामग्रीका लागि जिरी नगरपालिकासँग सहयोग अनुरोध गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आवश्यक सामग्रीहरूको सूचीसहित गत मंसिर २ गते हाटडाँडा बोइज क्लव मार्फत पुनः निवेदन पेश गरिएको थियो।

उक्त अनुरोधलाई सकारात्मक रूपमा ग्रहण गर्दै सनिवार जिरी नगरपालिकाले सरसफाइ सामग्री हस्तान्तरण गरेको छ। सरसफाइ अभियानलाई सफल बनाउन जिरी नगरपालिकाले डस्टबिन २० थान, डस्टबिन स्टाण्ड २० थान, डस्ट्प्यान ५ थान, इनामेल, पन्जा, मास्क, झारु, बेल्चा, कुटो -कोदालो र हसिया-खुर्पा लगायत बिजुलीको सामानहरु हस्तान्तरण गरेको थियो ।

नगरपालिकाले सरसफाइ अभियानमा महत्त्वपूर्ण भुमिका खेलेको र आगामी दिनहरुमा पनि थप सहयोगको अपेक्षा रहेको हाटडाँडा बोइज क्लब हाटडाँडा समन्वय समितीले जनाएको छ ।

“स्वच्छ वातावरण, स्वस्थ जीवन” भन्ने मूल मान्यतालाई आत्मसात् गर्दै, यस अभियानले हाटडाँडा बजार क्षेत्रको वातावरणीय संरक्षण, सामुदायिक एकता तथा नागरिक चेतनामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौं । जुन कार्यको लागि जिरी नगरपालिका सदैव हाम्रो साथमा रहेको हाटडाँडा टोल समन्वय टोली सदस्य एबम् स्थानीय युवा ईश्वर सुनुवारले बताए ।

“हाम्रो मुख्य उद्देश्य महिनामा एक पटक फोहोर टिप्ने र सफा गर्ने मात्र नभई, आम नागरिकलाई “फोहोर जथाभावी नफालौँ” भन्ने सन्देशप्रति सचेत गराउनु तथा हाटडाँडाबासीबीच सामाजिक एकता, सद्भाव र मेलमिलापलाई अझ सुदृढ र एकीकृत बनाउँदै लैजानु हो, सुनुवारले भन्नुभयो ।”

जिरीको प्रगती उन्नतिको लागि नगरपालिकाले सक्ने सहयोग र साथका लागि २४ सै घन्टा नगरपालिका तयारी रहेको जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेलले बताए । समृद्ध जिरी निर्माणका लागि आफू जुनसुकै कसरत गर्न पनि पछि नहट्ने नगर प्रमुख जिरेलको भनाइ छ ।

पछिल्लोपटक हाटडाँडा बोइज क्लब (HBC) हाटडाँडा समन्वय समिती र हाटडाँडा बाल क्लबले सरसफाइ अभियानलाई सक्रियता पुर्वक अघि बढाइएको पाईन्छ ।

SHARE