काठमाडौँ । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा वर्षा र बदलीको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार अहिले कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली छ। कोशी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको छ।
आज राति हिमाली भूभागमा सामान्यतया बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली हुने र तराईमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्हरूले चट्याङसहित वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन तथा तातो मौसम रहने तराई क्षेत्रमा पर्याप्त पानी पिउन र घामबाट जोगिने उपाय अपनाउन आग्रह गरेका छन्।









