स्थापना दिवस पोस्टरबाट ओलीको तस्बिर हट्यो

काठमाडौं। नेकपा एमालेले पार्टी कार्यक्रमको पोस्टरबाट अध्यक्ष केपी शर्मा ओली को तस्बिर हटाउन थालेको छ।

एमालेले बुधबार ७७औं स्थापना दिवस मनाउँदैछ। सोही अवसरमा आयोजना गरिने कार्यक्रमका लागि सार्वजनिक गरिएको पोस्टरमा अध्यक्ष ओलीको तस्बिर राखिएको छैन।

पोस्टरमा भने नेकपाका संस्थापकहरू पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशीमोतीदेवी श्रेष्ठ का श्यामश्वेत तस्बिर राखिएका छन्।

यसअघि एमालेका कार्यक्रमहरूमा नियमित रूपमा राखिँदै आएका मनमोहन अधिकारीमदन भण्डारी का तस्बिरसमेत यसपटक प्रयोग गरिएको छैन।

एमालेभित्र नेतृत्व परिवर्तनको बहस सघन भइरहेका बेला अध्यक्ष ओलीको तस्बिर पोस्टरबाट हटाइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सचिवालय तहका केही नेताहरूले नै ओलीको विकल्प खोज्नुपर्ने धारणा राख्दै आएका छन्।

२०७१ साउनमा पार्टी सत्तामा आएयता एमालेका अधिकांश कार्यक्रमहरूमा ओलीको तस्बिर अनिवार्यजस्तै प्रयोग हुँदै आएको थियो। केन्द्रीयदेखि स्थानीय तहसम्मका सभा, सम्मेलन र महाधिवेशनमा समेत उनको तस्बिर प्रमुख रूपमा राखिने गरेको थियो।

तर गत भदौ २३ गतेको जेनजी आन्दोलनपछि ओली सत्ताबाट बाहिरिएयता उनको तस्बिर प्रयोग क्रमशः घट्दै गएको देखिन्छ। पछिल्लो निर्वाचनमा समेत एमाले उम्मेदवारहरूले प्रचार सामग्रीमा ओलीको तस्बिर सीमित रूपमा मात्र प्रयोग गरेका थिए।

एमालेले यसअघि कार्यक्रम व्यवस्थापनसम्बन्धी आचारसंहिता नै जारी गर्दै अध्यक्षबाहेक अन्य नेताको तस्बिर प्रयोग नगर्न निर्देशन दिएको थियो। उक्त परिपत्रमा कार्यक्रमलाई सादगी र मर्यादित बनाउन मञ्च प्रयोग, सम्मान सामग्री तथा सजावटमा पनि संयमता अपनाउन आग्रह गरिएको थियो।

तत्कालीन उपमहासचिव विष्णु रिमाल ले नै यस्तो आचारसंहिता आवश्यक भएको बताएका थिए।