काठमाडौं । मन्त्रिपरिषद्ले नारायणदत्त पौडेल लाई सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ। सोमबारको बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेल का अनुसार पौडेलले यही १८ वैशाखपछि संगठनको कमान्ड सम्हाल्नेछन्। हाल मानव स्रोत विभाग प्रमुखका रूपमा कार्यरत उनी निवर्तमान आईजीपी राजु अर्याल को अवकाशपछि जिम्मेवारीमा आउनेछन्।
आईजीपीका प्रमुख दाबेदार रहेका पौडेल एआईजीमध्ये वरिष्ठ थिए। प्रतिस्पर्धामा रहेका एआईजी वंशी दाहाल र गणेश ठाडा मगर उनीभन्दा जुनियर रहेका थिए।
२०५४ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका पौडेलले सशस्त्र प्रहरी, सीमा सुरक्षा, मानव स्रोत र कार्य विभागलगायतका विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। उनी १८ चैत २०८४ सम्म दुई वर्षे कार्यकालका लागि आईजीपी रहनेछन्।
खरिदारबाट सेवा सुरु गरी प्रहरी हुँदै सशस्त्र प्रहरीको नेतृत्वसम्म पुगेका पौडेलसँग करिब तीन दशकको सुरक्षा अनुभव रहेको छ।









