१२ घण्टामै सगरमाथा शिखरमा भिजन घिसिङ

काठमाडौं । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८, टेकानपुरका आरोही भिजन घिसिङ तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्।

८ हजार ८ सय ४८ मिटर उचाइ रहेको सगरमाथाको शिखरमा उनले सोमबार सफलता हासिल गरेका हुन्। सगरमाथा आरोहणसँगै भिजन यतिबेला सामाजिक सञ्जालमा चर्चामा छन्।

आरोहणपछि उनले सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै सफल आरोहणबारे जानकारी दिएका हुन्। सार्वजनिक तस्वीरमा उनी सगरमाथाको चुचुरोमा आफ्नो कम्पनीको बोर्ड सहित देखिएका छन्।

कठिन हिमाली मौसम, अत्यधिक चिसो र जोखिमपूर्ण यात्राबीच सफल आरोहण गरेका भिजनलाई सामाजिक सञ्जालमा बधाई दिने क्रम बढ्दो छ।

ग्रामीण क्षेत्रबाट विश्वकै अग्लो हिमालसम्मको यात्रा तय गरेका भिजनको उपलब्धिलाई स्थानीयवासीले गर्वको विषयका रूपमा लिएका छन्। उनकाे सफलताले तेमाल क्षेत्रका युवामा पर्वतारोहणप्रतिको आकर्षण र प्रेरणा थपिएको छ।