भोटेबहालको व्यापार : भीड उस्तै, कारोबार घट्दो

अनलाइन र मूल्य प्रतिस्पर्धाबीच टिक्न संघर्ष गर्दै फेन्सी व्यवसायी

एक समय न्युरोडबाट सरेर नेपाली उत्पादनको प्रमुख व्यापारिक केन्द्रका रूपमा चिनिएको भोटेबहाल आज फेरिएको बजारको चित्र बोकेर उभिएको छ। ग्राहकको भीड देखिए पनि व्यापारीको अनुहारमा सन्तुष्टि छैन। बढ्दो अनलाइन व्यापार, फुटपाथको सस्तो बजार र घट्दो क्रयशक्तिले भोटेबहालका पुराना व्यवसायीलाई दैनिक संघर्षमा धकेलेको छ।

महाँकाल भगवती फेन्सी स्टोरका सञ्चालक विनय सुवेदी भन्छन्, “पहिला नगद कारोबारको मुख्य केन्द्र न्युरोड थियो। पछि त्यो व्यापार भोटेबहाल सर्‍यो। अहिले भोटेबहाल आफैं सुकेजस्तै भएको छ। नाम त नेपाली सामानको बजार भनेर छ, तर अहिले हामीले चिनियाँ साना–साना सामान पनि धेरै बेच्नुपरेको छ।”

उनको पसलमा एक सयदेखि चार सय रुपैयाँसम्मका क्याप र ८० देखि ६५० रुपैयाँसम्मका बेल्ट बिक्री हुन्छन्। “हाम्रा ग्राहक बच्चादेखि वृद्धसम्म सबै उमेर समूहका छन्,” उनी भन्छन्।

व्यापारको अर्को ठूलो चुनौती भनेको बढ्दो प्रतिस्पर्धा हो। सुवेदीका अनुसार बजारमा सस्तो मूल्यमा नक्कली वा कम गुणस्तरका सामान बेच्ने प्रवृत्ति बढेको छ। “ग्राहकले अहिले गुणस्तरभन्दा मूल्य हेर्न थालेका छन्। फुटपाथमा सस्तो पाइने भएपछि धेरै ग्राहक त्यतै आकर्षित हुन्छन्। पसलमा आउनेले भने गुणस्तर खोज्छन्, तर त्यस्तो ग्राहकको संख्या पनि घट्दै गएको छ,” उनले सुनाए।

होलसेल र रिटेल व्यापारको अन्तर पनि अहिले पहिलेजस्तो नरहेको उनी बताउँछन्। “होलसेलले थोरै प्रतिशत राखेर सामान बिक्री गर्छ। रिटेलले भाडा, कर्मचारी, करलगायत सबै खर्च जोडेर मूल्य निर्धारण गर्नुपर्छ। तर अनलाइन व्यापारले मूल्यको प्रतिस्पर्धा यति बढाइदिएको छ कि रिटेल व्यवसायीलाई टिक्नै गाह्रो भएको छ।”

उनका अनुसार व्यवसाय मौसमी पनि छ। “दसैं लागेपछि जाडोको सिजन राम्रो हुन्छ। गर्मीमा व्यापार सुस्त हुन्छ। अहिले त पहिलेजस्तो नाफा पनि छैन। पुराना व्यवसायीहरू भन्छन्, एक समय २५ प्रतिशतसम्म मार्जिन हुन्थ्यो। अहिले त्यो सम्झनामा मात्रै सीमित भएको छ।”

भोटेबहालको व्यापारिक अवस्था वर्षेनी खस्किँदै गएको उनको अनुभव छ। “मेरो बुझाइमा हरेक वर्ष करिब १० प्रतिशतका दरले बजार घट्दै गएको छ,” उनी भन्छन्।

विदेश रोजगारीसँग तुलना गर्दै उनी थप्छन्, “अहिले विदेश जानेको पनि पैसा बच्दैन, यता व्यापार गर्नेको पनि बच्दैन। अन्त्यमा हिसाब गर्दा माइनसमै पुग्ने अवस्था छ।”

कुनै समय राजधानीकै चलायमान व्यापारिक गन्तव्य मानिएको भोटेबहाल अहिले नयाँ उपभोक्ता व्यवहार, अनलाइन बजार र मूल्य प्रतिस्पर्धाको चापमा आफ्नो पुरानो पहिचान जोगाउने संघर्षमा छ। व्यापारीहरूका अनुसार बजारमा ग्राहकको आवागमन अझै देखिए पनि कारोबार भने पहिलेको जस्तो छैन। भीड उस्तै भए पनि व्यापारको गति भने क्रमशः सुस्ताउँदै गएको उनीहरूको निष्कर्ष छ।