बाढीको शोकमा ३१ औँ तामाङ चलचित्र प्रदर्शन दिवस : यसपटक उत्सव होइन, मौन स्मरण

भदौ १६ तामाङ चलचित्रकर्मीका लागि सामान्य क्यालेन्डरको एउटा मिति होइन। आफ्नै भाषा, संस्कृति, भेषभूषा, संस्कार र समाजका कथा पर्दामा बोल्न थालेको दिनको सम्झना हो। तर यस वर्ष यही दिन तामाङ चलचित्र संघले विगतझैँ उत्सव मनाएनन।

रसुवाको टिमुरे र आसपासका क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै ३१ औँ तामाङ चलचित्र प्रदर्शन दिवस औपचारिक कार्यक्रम नमनाउने संघले निर्णय गरिएको हो।

भदौ १० गते बिहान करिब ९ बजेतिर तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे बजारसहित भोटेकोशी नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीले बस्ती, सडक, पुल, सरकारी तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएको प्रारम्भिक विवरण छन्। उद्धारका लागि नेपाली सेनाका हेलिकप्टरसमेत परिचालन गरिएका थिए।

विपत्तिको पीडामा समुदायका नागरिकहरू उद्धार, राहत र पुनःस्थापनाको पर्खाइमा रहेका बेला चलचित्र क्षेत्रको उत्सव गर्नु उपयुक्त नहुने ठहरसहित यसपटक दिवसलाई औपचारिक समारोहमा सीमित नगर्ने निर्णय गरिएको हो।

यो निर्णय तामाङ चलचित्रको इतिहास बिर्सने निर्णय भने होइन। बरु यसपटक चलचित्र दिवसले उत्सवभन्दा माथि उठेर समुदायको दुःखमा ऐक्यबद्धता जनाउने अर्थ बोकेको छ।

‘सेमरी छोरङान’देखि सुरु भएको इतिहास

तामाङ चलचित्र प्रदर्शन दिवसको इतिहास खोज्दा जयनन्द लामाको नामसँग जोडिएको पहिलो तामाङ चलचित्र ‘सेमरी छोरङान’ सम्म पुग्नुपर्छ।

जयनन्द लामाको कथा तथा निर्देशनमा २०५१ सालमा निर्माण भएको ‘सेमरी छोरङान’ लाई तामाङ चलचित्र इतिहासको पहिलो चलचित्रका रूपमा लिइन्छ। चलचित्र २०५२ साल भदौ १६ गते काठमाडौंस्थित रसियन कल्चर हाउसमा च्यारिटी सोमार्फत प्रदर्शन भएको थियो- भने चलचित्रको सेन्सर २०५३ सालमा सूचना तथा सञ्चार प्रबिधि मन्त्रलयमा भएको थियो ।  त्यही ऐतिहासिक प्रदर्शनको सम्झनामा भदौ १६ गतेलाई तामाङ चलचित्र प्रदर्शन दिवसका रूपमा मनाउन थालिएको हो।

अर्थात् यो दिवसको मूल भावना एउटा चलचित्र प्रदर्शन भएको दिन सम्झनु मात्र होइन-तामाङ भाषा र समाजले आफ्नै कथा आफ्नै माध्यमबाट भन्न थालेको क्षणको सम्मान गर्नु हो।

त्यो समय नेपाली चलचित्रको मूलधारमा तामाङ समुदायका कथा र भाषा निकै कम सुनिन्थे। आफ्नै गाउँ, आफ्नै पात्र, आफ्नै बोली र आफ्नै संस्कृतिलाई पर्दामा उतार्नु आफैंमा सांस्कृतिक साहस थियो।

‘सेमरी छोरङान’ ले त्यही साहसको सुरुवात गर्‍यो।

पर्दामा देखियो आफ्नै समाज

पहिलो चलचित्रपछि तामाङ चलचित्र निर्माणको यात्रा विस्तारै अगाडि बढ्यो। गाउँका कथा, पारिवारिक सम्बन्ध, प्रेम, सामाजिक विभेद, धर्म, संस्कार, परम्परा र समुदायका समसामयिक विषय चलचित्रमा आउन थाले।

पर्दामा तामाङ भाषा सुनिन थाल्यो। तामाङ पहिरन देखिन थाल्यो। डम्फू, सेलो, म्हेन्दोमाया, ताम्बा र बोन्बोसँग जोडिएका सांस्कृतिक पक्ष कथा र दृश्यका हिस्सा बन्न थाले।

यस अर्थमा तामाङ चलचित्र केवल मनोरञ्जनको साधन रहेन। यसले समुदायलाई आफ्नै आँखाबाट आफूलाई हेर्ने अवसर दियो।

हिजो हजुरबा–हजुरआमाले सुनाउने कथा आज चलचित्रको दृश्य बन्न थाले। गाउँमा गरिने संस्कार पर्दामा अभिलेख हुन थाले। बोलिचालीमा प्रयोग हुने शब्द र लोपोन्मुख सांस्कृतिक अभ्यासहरू पनि दृश्य माध्यममा सुरक्षित हुन थाले।

त्यसैले तामाङ चलचित्रलाई केवल फिल्मको संख्याबाट मूल्यांकन गर्दा यसको सामाजिक अर्थ छुट्न सक्छ।

यो एउटा समुदायको चलायमान सांस्कृतिक अभिलेख पनि हो।

तीन दशकमा बदलिएको चलचित्र यात्रा

तामाङ चलचित्रले तीन दशकभन्दा लामो यात्रा पूरा गरिसकेको छ। चलचित्र निर्माणको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। २०८२ सालमा प्रकाशित कान्तिपुरको विवरणअनुसार तामाङ चलचित्र संघले ३० औँ प्रदर्शन दिवस मनाउँदा तीन दशकको यात्रालाई विभिन्न कार्यक्रम र सम्मानमार्फत सम्झिएको थियो।

यस अवधिमा तामाङ चलचित्रले निर्माता, निर्देशक, कलाकार, लेखक, संगीतकार, छायांकार, सम्पादकलगायतको एउटा आफ्नै सिर्जनात्मक पुस्ता निर्माण गरेको छ।

तर यात्रा सहज भने छैन।

चलचित्र बनेपछि त्यसलाई नियमित रूपमा दर्शकसम्म पुर्‍याउने बजार अझै कमजोर छ। पर्याप्त हल, प्रचार–प्रसार, लगानीको सुरक्षा, वितरण प्रणाली र व्यावसायिक बजारको अभावका कारण धेरै तामाङ चलचित्र समुदाय केन्द्रित प्रदर्शनमा निर्भर रहँदै आएका छन्।

तामाङ चलचित्रलाई सांस्कृतिक अभियानबाट व्यावसायिक उद्योगतर्फ लैजाने बहस पनि यही कारण निरन्तर चलिरहेको छ।

यसपटक किन रोकियो उत्सव?

दिवसको अवसरमा विगतमा सम्मान, सांस्कृतिक प्रस्तुति, चलचित्र प्रदर्शन तथा विभिन्न कार्यक्रम हुँदै आएका थिए। ३० औँ प्रदर्शन दिवसमा चलचित्रकर्मी तथा समुदायका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई विभिन्न विधामा TFR सम्मानसमेत प्रदान गरिएको थियो। तर यसपटक परिस्थिति फरक छ।

भदौ १० को बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार भोटेकोशीको बाढीले नदी किनारका बस्ती तथा संरचना बगाएको थियो। उद्धार र क्षतिको विवरण संकलनको कामसमेत जारी रहेको छ ।

यस्तो अवस्थामा सांस्कृतिक उत्सवका लागि भेला भएर खुसी साट्नुभन्दा पीडित समुदायप्रति ऐक्यबद्धता जनाउनु प्राथमिकता बनेको हो।

त्यसैले यसपटकको चलचित्र प्रदर्शन दिवसमा ठूलो मञ्च नहुन सक्छ, सम्मान कार्यक्रम नहुन सक्छ, सांस्कृतिक प्रस्तुति नहुन सक्छ। तर दिवसको मूल भावना भने अझ गहिरो रूपमा उपस्थित हुनेछ।

 

तामाङ चलचित्र र विपत्तिको कथा

टिमुरे र आसपासका क्षेत्र तामाङ समुदायको बसोबास तथा सांस्कृतिक भूगोलसँग पनि जोडिएका छन्। त्यसैले रसुवामा आएको विपत्तिले तामाङ समुदायको सामाजिक जीवनलाई छोएको पीडा चलचित्र क्षेत्रका लागि पनि टाढाको विषय होइन।

चलचित्रले प्रेम, पीडा, संघर्ष र सामाजिक परिवर्तनका कथा सुनाउँदै आएको छ। अब त्यही चलचित्र क्षेत्रले समुदायमाथि आइपरेको प्राकृतिक विपत्तिको समयमा मौन ऐक्यबद्धता जनाइरहेको छ।

सायद यही नै चलचित्र दिवसको अर्को अर्थ हो।

पर्दामा समुदायको कथा बोल्ने कलाकार र स्रष्टाहरूले पर्दाबाहिर पनि समुदायको दुःखलाई आफ्नो दुःखका रूपमा ग्रहण गर्नु।

उत्सव रोकिएला, इतिहास रोकिन्न

तामाङ चलचित्र प्रदर्शन दिवस एक वर्ष औपचारिक रूपमा नमनाउँदैमा यसको इतिहास रोकिने छैन।

कोरोना महामारीका कारण पनि विगतमा दिवसका औपचारिक कार्यक्रम प्रभावित भएका थिए। २०७७ सालमा तामाङ चलचित्र संघले कोभिड–१९ का कारण कार्यक्रम गर्न नसकिए पनि पहिलो तामाङ चलचित्र ‘सेमरी छोरङान’लाई टेलिभिजनमार्फत प्रदर्शन गर्ने जनाएको थियो।

यसपटक कारण फरक छ-प्राकृतिक विपत्ति।

तर दुवै अवस्थामा एउटा कुरा समान छ-चलचित्रको यात्रा समाजभन्दा अलग छैन।

समाज दुःखमा हुँदा चलचित्रकर्मीले पनि उत्सव स्थगित गर्न सक्छन्। समाज पुनःउठ्दा चलचित्रले त्यही पुनर्निर्माणको कथा भन्न सक्छ।