तामाङ मौलिक सेलो संगीतको संरक्षण र प्रवर्द्धनमा जुट्दै कलाकार, मंसिर २५ र २६ गते महोत्सव

काठमाडौं। तामाङ समुदायको मौलिक कला, संस्कृति र सांगीतिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा चौथो तामाङ मौलिक सेलो संगीत महोत्सव–२०८३ आयोजना हुने भएको छ। नेपाल तामाङ कलाकार संघको आयोजनामा आगामी मंसिर २५ र २६ गते काठमाडौंको भृकुटीमण्डपमा महोत्सव हुन लागेको हो।

संघका अध्यक्ष विशाल काल्तानका अनुसार तामाङ समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको डम्फु तथा ताम्बा संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्दै सेलो, म्हेन्दोमाया, खन्दोके र फापरेजस्ता मौलिक संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवको पहिलो दिन मंसिर २५ गते तामाङ समुदायका मौलिक संस्कार र संस्कृति झल्किने झाँकीसहित उद्घाटन समारोह आयोजना गरिनेछ। उद्घाटन समारोहमा लामा, ताम्बा र बोन्पोद्वारा सङ सेर्केम पूजा गरिने आयोजकले जनाएको छ। त्यसैगरी ताम्बाहरूको डम्फु तथा ताम्बा गीत प्रस्तुति, मौलिक सांगीतिक कार्यक्रम र विभिन्न व्यक्तित्वबाट शुभकामना मन्तव्यसमेत रहनेछ।

महोत्सवका अवसरमा प्रदान गरिँदै आएको सेलो संगीत पुरस्कार यस वर्ष अग्रज संगीतकार तथा गायक प्रेम लोप्चनलाई प्रदान गरिने भएको छ। तामाङ मौलिक संगीतको क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका लोप्चनलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिने संघले जनाएको छ।

महोत्सवको दोस्रो दिन मंसिर २६ गते विशेष सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुनेछ। उक्त दिन चन्द्रकुमार मोक्तान, चन्द्रकुमार दोङ, रोज मोक्तान र प्रेम लोप्चनलगायत कलाकारले आफ्ना सांगीतिक प्रस्तुति दिनेछन्। साथै विभिन्न सांगीतिक ब्यान्डको लाइभ प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाउने आयोजकको अपेक्षा छ।

तामाङ समुदायको मौलिक संगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई इतिहास, भाषा, संस्कार र सामूहिक स्मृतिको अभिव्यक्तिसमेत हो। डम्फुको तालमा गुञ्जिने सेलोदेखि म्हेन्दोमाया, खन्दोके र फापरेसम्मका सांगीतिक विधाले तामाङ समुदायको जीवनशैली र सांस्कृतिक मौलिकता बोकेका छन्।

पछिल्लो पुस्तामा मौलिक संगीतप्रतिको आकर्षण बढाउँदै परम्परागत सांगीतिक सम्पदालाई नयाँ पुस्तासम्म पुर्‍याउने लक्ष्यसहित आयोजना हुन लागेको महोत्सवले तामाङ कला र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याउने आयोजकको विश्वास छ।