अन्तर्राष्ट्रिय अवार्ड पाएका दर्जनौ नेपाली साहित्यकारको जमघट

कोरियाः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरियाले आयोजना गरेको दुइ दिने नेपाली साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी आइतबार सोलमा सम्पन्न भएको छ । सम्मेलनमा हङकङ, अमेरिका, अष्ट्रेलिया, सिक्किम, इजरायल, जापान, नेपाल लगायत मुलुकबाट आएका दुइ दर्जन चर्चित स्रष्टाहरुले आफ्नो कृतिका बारेमा चर्चा गर्नुका साथै नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।

अष्ट्रेलियाबाट १४ घण्टा लामो हवाई यात्रा मार्फत कोरिया आउनु भएका साहित्यकार भिमसेन सापकोटा, सिक्किमबाट आउनु भएकी डा पुष्पा शर्मा, नेपालबाट आउनु भएका प्रा डा खगेन्द्र लुइटेल र हङकङबाट आउनु भएका दार्शनिक तथा उपन्यासकार देश शुब्बाले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय भाषामा उल्था गरेर विश्वव्यायि बनाउनु पर्ने आवश्यक रहेको धारणा राख्नु भएको छ ।

सम्मेलनमा बोल्दै राजधानी सोलस्थित नेपाली राजदूतावासका कार्यबाहक राजदूत किरण शाक्यले नेपालका चर्चित साहित्यीक कृतिलाई कोरियन भाषामा अनुवाद गरेर यहाँका पुस्ताकालयमा राख्ने व्यावश्था मिलाउन दुतावास लागि पर्ने बताउनु भएको छ । उहाँले दुतावासभित्र नै पुस्ताकालय खोलिने र पुस्तकालयमा नेपाली, कोरियन पुस्तकहरु उपलब्ध हुने बताउनु भएको छ । कोरियन भाषामा केहि नेपाली पुस्तक अनुवाद भइसकेको र आगामी दिन अन्य कृतिलाई पनि कोरियन भाषामा उल्था गरेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग गर्ने प्रतिबद्धता पनि शाक्यले गर्नुभयाे।

बरिष्ठ साहित्यकारहरुले मानक भाषा, भारतमा नेपाली साहित्यको चर्चा, नेपाली भाषालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक कदमका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रा डा खगेन्द्र लुइटेलले नेपाली भाषालाई ध्वस्त र संकटग्रस्त पार्न केहि समय अघि नेपालमा प्रयास भएको तर नेपाली स्रष्टाहरुको आन्दोलनका कारण जोगिएको बताउनु भयो । उहाँले केहि विखण्डनकारी सोच र प्रवृत्तिका व्याक्ति र नेताले वर्ण विन्यास गरी नेपाली भाषालाई विगार्ने र विखण्डन पार्ने प्रयास गरेको बताउनुभयो।

स्रष्टा र भाषाविद्हरुको सजगता र आन्दोलनले नेपाली भाषा विखण्डन हुनबाट जोगिएको छ । स्रष्टाको निरन्तरको आन्दोलन र भाषाविद्हरुको चर्को विरोध पछि सरकारले केहि महिना वर्ण विन्यास सम्बन्धी नयाँ नियम खारेज गरेको थियो । यसैगरी साहित्यकार सापकोटाले नेपाली भाषाले विश्वभर छरिएर रहेका नेपालीलाई एकजुट पार्न सफल भएको बताउनुभयो । उहाँले सकरात्मक सोच र नेपाली साहित्यमा यसको आवश्यकताका बारेमा चर्चा गर्नु भएको थियो । यसैगरी हङकङबाट आउनु भएका चर्चित दार्शनिक तथा उपन्यासकार देश सुब्बाले आफ्नो दर्शन भयवादका बारेमा प्रष्ट्याउनु भएको थियो।

सोलस्थित नेपाल हाउसको हलमा आयोजित सम्मेलन तथा गोष्ठीमा उल्लेख्य संख्यामा साहित्यप्रेमी प्रवासी नेपालीको सहभागिता रहेको थियो । अनेसास कोरिया च्याप्टरले गरेको यो बौद्धिक गोष्ठी कोरियामा पहिलो र सफल कार्यक्रम समेत हो । अनेसास कोरियाका अध्यक्ष कृष बाबु गुल्मेली लगायतका साथीहरुको पहलमा भएको यो ऐतिहासिक कार्यक्रमको कोरियावाशी नेपालीले प्रशंसा समेत गरेका छन् ।यसैगरी अनेसासले आगन्तुक सवै साहित्यकारलाई सम्मान समेत गरेको थियो ।

SHARE