रिङभित्रैबाट खेल्न सरकारमाः ससफो अध्यक्ष यादव

पोखरा, २५ जेठ

संघीय समाजवादी फोरमक केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले रिङभित्रै पसेर खेल्न फोरम सरकारमा गएको बताउनुभएको छ।

संघीय समाजवादी फोरम तमुवान—मगराँत प्रदेशद्धारा शुक्रवारदेखि शुरु गरेर प्रादेशिक अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुदै उपप्रधानमन्त्री समेत रहनु भएको अध्यक्ष यादवले नेपाल कम्युनिष्ट पार्टीले संविधान संशोधन गर्ने सहमति गरे पछि सडकबाट मात्र होइन रिङभित्रै पसेर दवाव दिनका लागि सरकारमा गएको बताउनुभयो।

सहमति गरेको पार्टीका नेताहरुले संविधान संशोधनमा इमान्दारीता देखाउनेछ भन्नुहुदै उहाँले सरकारमा जाने वित्तिकै फोरमले आन्दोलन छाडेको होइन सहमतिबाट केही भने पनि अधिकार प्राप्तिका लागि सरकारमा सहभागी भएको बताउनुभयो। पहिचान सहितको संघीयतासहितका अधिकार प्राप्तिका लागि लडाई लड्नै पर्ने बताउनुहुदै प्राप्त उपलब्धिलाई संरक्षण, संस्थागत गर्दै थप अधिकारका लागि फोरम जुटेको बताउनुभयो। संघीयता हामी नै लडेर प्राप्त गरेका हौं, आन्दोलनले नै २ नं प्रदेशको सरकार हामीले प्राप्त गरेका छौं भन्नुहुदै अध्यक्ष यादवले २ नंं. प्रदेश सरकार सबल भए मात्रै नेपालमा संघीयता स्थापित हुने बताउनुभयो।

उहाँले थप्नु भयो नेकपा हाम्रो मुद्धामा आएकाले मात्रै हामीले सरकारमा सहभागी हुदाँ पार्टी एकताको कुप्रचार गरिएको भन्दै आपत्ति जनाउनुभयो। नेकपा हाम्रो वरिपरि घुमे पनि पार्टी एकताको कुनै संभावना नभएको बताउनुहुदै २ नंं प्रदेशमा राजपासँगको सहकार्य निरन्तर रहने बताउनुभयो।

अगुवा कार्यकता प्रशिक्षणको पहिलो दिन केन्द्रीय उपाध्यक्ष हेमराज राईले ससफोको लक्ष्य, कार्यदिशा र सिद्धान्त, तमुवान इञ्चार्ज गणेशमान गुरुङले मुलुकको समसामयिक राजनीति र फोरमको निती, तमुवान सहइञ्चार्ज धनप्रसाद तामाङले पार्टीको संगठन र संगठक, बैकल्पिक केन्द्रीय सदस्य हुमबहादुर गुरुङ पहिचानको आन्दोलन विषयमा प्रशिक्षण दिनुभएको थियो भने प्रदेश अध्यक्ष दीपक तामाङले आगामी माघमा जनकपुरधाममा हुने पार्टीको पहिलो महाधिवेशनसम्मको पार्टी प्रादेशिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो।

प्रदेश अध्यक्ष दीपक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद तमुले स्वागत र प्रदेश मुख्य सचिव हेमन्त थापामगरले कार्यक्रम संचालन गर्नुभएको थियो। शनिवार सम्पन्न हुने प्रशिक्षणमा एक सय वढी अगुवा कार्यकर्ताको सहभागीता रहेको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त हुनुभएका कार्यक्रम प्रुमख अतिथि अध्यक्ष उपेन्द्र यादव र विशेष अतिथि उपाध्यक्ष हेमराज राईलाई कास्की जिल्ला समितिले तमु संस्कार अनुसार भाङ्ग्रा, फेटा, खादासहित विशेष बधाई, स्वागत सम्मान गरिएको थियो भने जिल्ला, प्रदेश र केन्द्रीय नेताहरुले पनि खादा लगाएर बधाई ज्ञापन गरिएको थियो।

SHARE