ग्वार्को घटना: दुई जनाको मृत्यु

कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा आवेदनसम्बन्धी विषयमा ललितपुरको ग्वार्कोमा शुक्रबार भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटनाप्रति गृह मन्त्रालयले दु:ख व्यक्त गरेको छ।

गृहका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले शुक्रबार अपराह्न विज्ञप्ति जारी गर्दै भौतिक तथा मानवीय क्षतिप्रति मन्त्रालयले दु:ख व्यक्त गरेको उल्लेख गरेका छन्।

ग्वार्कोमा इपिएस परीक्षाका लागि आवेदन दिन आएकाहरू र प्रहरीबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र साह छन्। सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा र वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

सुजनको छातीमा निलडाम देखिएको छ। वीरेन्द्रको भने तिघ्रामा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।

गृह प्रवक्ता भट्टराईले यस अवस्थामा संयमता अपनाएर शान्ति कायम गर्न पनि अनुरोध गरेको छन्।

‘इपिएस कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर जम्मा भएका व्यक्तिहरूको प्रदर्शन, अवरोध, तोडफोड, आगजनी तथा आर्थिक, भौतिक एवं मानवीय क्षतिप्रति मन्त्रालय दु:ख व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थामा संयमता अपनाई शान्ति कायम गर्न सम्बन्धित सबैमा अनुरोध छ।’

यस्तै मन्त्रालयले यसबारे छानबिन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन समिति समेत गठन गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी लालमणि आचार्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्यसहित समिति गठन गरेको छ।

SHARE