हास्य रियालिटी शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने

नेपालकै पहिलो  हास्य रियालिटी शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । डिजिटल अडिसनबाट हजारौँ आवेदकमध्ये १३२ जनालाई प्रि–जजिङका लागि बोलाएर तीमध्ये पनि ७६ जनालाई फिजिकल अडिसन राउन्डमा बोलाइएको थियो । हाल उक्त अडिसन राउन्डको छायाङ्कन सकिएको र प्रसारणको तयारीमा प्रोमोसन सुरु गरिएको छ ।

तेस्रो सिजनमा उमेरको हिसाबले १३ वर्षकी बालिकादेखि केही सिनियर नागरिकसम्म, तराई मूलकादेखि कालीकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्मका नयाँ कमेडियनहरूको प्रस्तुति हेरी मनोरञ्जन लिन सकिनेछ ।

कमेडी च्याम्पियन सिजन– ३ का जजहरूमा लोकप्रिय हास्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेलका साथै लोकप्रिय अभिनेत्री ऋचा शर्मा तथा सफल युवा निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएका छन् भने कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मालाई मेक्सम गौडेलले नै साथ दिनेछन् । निर्माण पक्षका अनुसार यस सिजनका विजेताले पनि नगद २५ लाख तथा सोहीबराबरको गाडी जित्नेछन् ।

कान्तिपुर टेलिभिजनमा तथा डिजिटल पार्टनर ओएसआर रियालिटीमा शीघ्र प्रसारणमा आउन लागेको यस हास्य रियालिटी शोको मार्केटिङको जिम्मा मिडिया एजेन्सी एडी रिलिजले लिएको छ ।

 

SHARE