खातामा ४१ भारु मात्रै भएकी महिला पाँच तारे होटलमा १५ दिन बसेर गरिन् मोजमस्ती

भारतको राजधानी नयाँ दिल्लीस्थित एयरोसिटीमा रहेको पाँच तारे होटल ‘पुलम्यान’ मा एउटा अनौठो घटना भएको छ । उक्त होटलमा १५ दिन बिताएर मोजमस्ती गरेकी एक महिलाले करिब ६ लाख भारु बिल तिर्न नसकेपछि कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ती महिला १३ डिसेम्बरका दिन उक्त होटलमा फर्जी नाम लेखाएर कोठा लिएकी थिइन् । उनी १५ दिन सो होटलमा बसेर विभिन्न सुविधा उपभोग गरेकी थिइन् । उनले यो अवधिमा स्पा सेवा अन्तर्गतमात्र उनको बिल २ लाख ११ हजार उठेको होटल प्रशासनले जनाएको छ ।

 

१५ दिन बस्दा ५ लाख ८० हजार भारुको बिल तयार भएको थियो । उनले अनलाइनमार्फत भुक्तानी गर्ने बताइन् तर होटलको खातामा रकम जम्मा भएन । त्यसपछि होटल स्टाफले ती महिलालाई आफ्नो बैंक खाता विवरण देखाउन भने । तर उनले आफ्नो खाता विवरण देखाउन मानिनन् ।

त्यसपछि उनी होटलबाट बाहिर निस्कन खोजिन् । बिल भुक्तानी नगरी बाहिर जान खोजेकी उनलाई होटलका सुरक्षाकर्मीले नियन्त्रणमा लिए । त्यसपछि होटल प्रशासनले प्रहरीलाई घटनाबारे जानकारी गरायो ।

 

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा ती महिलाको बैंक खातामा जम्मा ४१ भारुमात्र रहेको पाइयो । प्रहरीले ठगी, नक्कली दस्तावेज प्रयोग लगायत विभिन्न अभियोगमा उनीविरुद्ध उजुरी दर्ता गरेको छ ती महिलाले अर्कै नाममा होटलको कोठा बुक गरेको भए पनि अनुसन्धानबाट उनको असली नाम झाँसी रानी स्यामुअल रहेको प्रहरीले जनाएको छ ।

SHARE