अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागका कर्मचारी र प्रहरीबीच कुटाकुट

१८ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागका कर्मचारी र प्रहरीबीच कुटाकुट भएको विषयमा अध्ययन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।समितिका एक सदस्यका अनुसार, सुरुमा चेकजाँच गर्ने प्रहरी जवान रविरञ्जन गुप्तालाई पनि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा अध्यागमन अधिकृत छायालाल मुक्तानलाई विमानस्थलबाट हटाएर विभागीय कारबाही गर्न सिफारिस गरिएको छ भने उनलाई कुटपिट गर्ने असई सञ्जय तामाङलाई पनि निलम्बन गरेर विभागीय कारबाही गर्न सिफारिस भएको छ ।

प्रतिवेदनमा आगामी दिनमा यस्ता विवाद आउन नदिन गर्नुपर्ने कामहरुबारे समेत उल्लेख गरिएको ती सदस्यको भनाइ छ ।

समितिका एक सदस्यका अनुसार, घटना भएको बेलाको क्लोज सर्किट (सीसी) क्यामरा फुटेज र त्यसबेला आसपासमा रहेका अन्य अधिकृतहरुसँग समेत बयान लिएर छानबिनपछि कारबाहीका लागि सिफारिस गरिएको हो ।

अघिल्लो साता शुक्रबार मध्याह्न १२ः०५ बजे अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर जाँदा विवाद भएको थियो ।मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भएको र त्यही क्रममा आफूमाथि कुटपिट भएको मोक्तानले बताएका थिए । यसबारे बुझ्न जाँदा प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमालमाथि पनि दुव्र्यवहार भएको थियो ।
SHARE