लिग २ सिरिज : नेपालले तोड्यो जितको खडेरी, स्कटल्याण्ड ५ विकेटले पराजित

नेपालले आइसीसी पुरुष विश्वकप लिग २ मा दोस्रो जित निकाल्दै लामो समयपछि जितको खडेरी तोडेको छ । मंगलबार राति अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डमाथि नेपाल ५ विकेटले विजयी भएको हो ।

टस जितेर पहिले फिल्डिङ गरेको नेपालले १५५ रनको सामान्य लक्ष्य पाएको थियो । सो लक्ष्य नेपाले २९.५ ओभरमा ५ विकेट गुमाउँदै भट्टायो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ५१ रन बनाए । उनले ४२ बलमा ८ चौका हिर्काए । उनी नटआउट रहे । त्यस्तै गुल्सन झाले नटआउट २५ रन जोडे । कुशल भुर्तेलले पनि समान २५ बनाए । ओपनर अनिल साह १३ रनमै एलबीडब्लू आउट हुँदा अर्का ओपनर आसिफ शेखले २१ रनको योगदान गरे ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

स्कटल्याण्डका लागि ब्रान्डम म्याकलमले २ तथा ब्राड गुरीले १ विकेट लिए । त्यस्तै मार्क वाट र ज्याक जार्भिसले समान १/१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको स्कटल्याण्ड ४१.४ ओभरमा १५४ रन बनाउँदै अलआउट भएको थियो । उसका लागि आठौँ क्रममा ब्याटिङ गर्न आएका मार्क वाटले सर्वाधिक ३४ रन बनाए । कप्तान रिची बेरिङटोन र माकइकल जोन्सले समान १९/१९ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ३ तथा करण केसी २ विकेट लिए । त्यस्तै सोमपाल कामी र गुल्सन झाले पनि २/२ विकेट हात पारे । आरिफ शेखले १ विकेट लिए ।

नेपालले लिग २ का ९ खेल खेलिसक्दा एक मा मात्र जित निकालेको थियो । घरेलु मैदानमा भएको लिग २ को पहिलो सिरिजमा नेपालले एक जित निकालेको थियो ।

नेपालले अब शनिबार अमेरिकाविरुद्ध खेल्नेछ ।

SHARE