काठमाडौं । ‘योङ इण्डिजिनिष्ट लिग’ (वाइआइएल० ले सोमबार काठमाडौंमा जेनजी समूहहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनका घटनाबारे समीक्षा र आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा आदिवासी अभियन्ता विद्या महर्जन, एनटिइजेटके जेनजीका संयोजक सुरेन्द्र घर्ती, जुगल हाइड्रो संघर्ष समितिका संयोजक रामकाजी तामाङ, राजनीतिक अभियन्ता निर्घ नविन, आन्दोलनका क्रममा घाइते मिलन खत्री, जेनजी अभियन्ता रमेश कँडेल, प्रदिप भट्टराई र को–अर्डिनेटर बिजय लिम्बुलगायतको सहभागिता थियो।
अन्तरक्रियामा लिगद्वारा उठाइएका प्रश्नहरूमा जेनजी नेताहरूले आफ्ना धारणा राख्दै आन्दोलनका कारण, उद्देश्य र आगामी योजनाबारे विस्तृत रूपमा चर्चा गरेका थिए।

सुरेन्द्र घर्तीले आन्दोलनको तयारी तीन महिना अघिदेखि गरिएको जनाउँदै भने, ‘सरकारको भ्रष्टाचार, नातावाद र अन्यायपूर्ण गतिविधिले हामीलाई सडकमा उत्रिन बाध्य बनायो।’ उनले अन्तरिम सरकारले जेनजीहरुले आन्दोलनमा उठाइएका मागहरु पूरा गर्न नसके फेरी आन्दोलन गर्न बाध्य हुने बताए ।
त्यसैगरी को–अर्डिनेटर बिजय लिम्बुले भदौ २३ गते आन्दोलनका क्रममा भएका गोलीकाण्डपछि आन्दोलन स्वाभाविक प्रतिकारका रूपमा फैलिएको बताए। उनका अनुसार, “राज्यसत्ताको चरित्र र जनविरोधी शासनले युवाहरूलाई विद्रोह गर्न प्रेरित गर्यो।”
आन्दोलनका क्रममा घाइते भएका विकास रसाइलीले गाउँ समाजदेखि नै परिवर्तनको आवश्यकता महसुस भएकाले आन्दोलनमा सहभागिता जनाएको बताए। उनले भने, ‘घाइते भए पनि हाम्रो माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ।’
कार्यक्रममा जेनजीहरुले अहिलेको अन्तरिम सरकारको पनि विरोध गरेका छन् । जेनजी २.० का अभियन्ता तथा अन्दोलनको क्रममा तथा पछि पनि गिरफ्तारमा परिरहेका सुनिल शाहीले अहिलेको प्रधानमन्त्री सुशिला कार्कीको पुस्ताको सरकार ल्याउनलाई आन्दोलन गरेको नभई जेनजी पुस्ता नै सरकारमा हुनुपर्ने बताइएका छन् । यो सरकारले जेन्जीको भावना विपरित काम गरेको र अन्दोलनकारीहरुलाइ अपराधीकरण गर्न लागी परेको दावी गरे ।
सो अवसरमा राष्ट्रिय मुक्ति क्रान्तिका रणनीतिकार बुद्धछिरिङ मोक्तानद्धारा मस्यौदा गरिएको “योङ इण्डिजिनिष्ट लिग घोषणापत्र” सार्वजनिक गर्दै औपनिवेशिकता, बाह्य प्रभुत्व र पुँजीवादी नीतिविरुद्ध स्वदेशी स्वशासनको दावीलाइ अघि सारेको घोषणा गर्यो। सामन नेपालका प्रवक्ता आरके तामाङले घोषणापत्रको टिका प्रस्तुत गरेका थिए ।
त्यसैगरी लिगका संयोजक सनम लिम्बुले जेनजी आन्दोलनका सहिद र घाइतेहरूको बलिदानलाई स्मरण गर्दै भने, ‘भ्रष्टाचार र अन्यायविरुद्ध लडेका युवाहरूको सपना साकार पार्न लिग निरन्तर प्रतिबद्ध रहन्छ। स्वदेही भूमिमाथि हुने सबै दमन विरुद्ध हामी सधैं अग्रपंक्तिमा रहनेछौं।’
योङ इण्डिजिनिष्ट लिग अन्तरगतको सर्भ एण्ड सेभमार्फत आन्दोलनमा घाइते भएका मिलन थापालाई आर्थिक सहयोग र जेनजीहरुको अभिभावकको भूमिका निर्वाह गरिरहेको संयोजक लिम्बुले बताए ।
कार्यक्रमले जेनजी आन्दोलन र स्वदेशी अधिकारबीचको सम्बन्धलाई स्पष्ट पार्दै नयाँ पुस्ताको राजनीतिक चेतना र प्रतिरोधी भावनालाई मजबुत बनाएको देखिन्छ।










