हनी ट्र्याप प्रकरणमा पाँच जनालाई सफाइ, एक जनालाई डेढ वर्ष कैद

ललितपुर । हनी ट्र्यापमा पारेर आपराधिक लाभ लिएको आरोपमा मुद्दा खेपिरहेका प्रहरी निरीक्षक बिनुकुमारी शाहीसहित पाँच जनाले सफाइ पाएका छन्।

जिल्ला अदालत ललितपुरका न्यायाधीश ढाकाराम पौडेलको इजलासले मंगलबार एक जनालाई दोषी ठहर गर्दै अन्य पाँच जनालाई सफाइ दिएको हो। अदालतले तजम्मुल इसलामलाई दोषी ठहर गर्दै उनलाई एक वर्ष ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना तोकेको अदालत स्रोतले जनाएको छ।

यस प्रकरणमा जिल्ला प्रहरी परिसर ललितपुरले २०८१ मंसिर ९ गते छ जनाविरुद्ध आपराधिक लाभ लिएको कसुरमा मुद्दा दायर गरेको थियो। प्रहरी निरीक्षक शाही, सुस्मा विश्वकर्मा, भीमादेवी थापा, महेन्द्र हमाल र दर्शन पोखरेलले भने आरोपबाट सफाइ पाएका हुन्।

संखुवासभा घर भई ललितपुरको सानागाउँ बस्दै आएका इन्द्रकुमार राईबाट ३० लाख रुपैयाँ असुल गरेको आरोप उनीहरूमाथि लागेको थियो। जबरजस्ती करणीको मुद्दा लगाउने धम्की दिँदै सुरुमा ६० लाख रुपैयाँ मागिएको अभियोग पत्रमा उल्लेख थियो।

प्रहरीले उनीहरूलाई इन्द्रकुमारलाई प्रहरी प्रभाग बुंगमतीमा पुर्‍याएर प्रहरी निरीक्षक शाहीकै अगाडि रकम माग गरेको आरोप लगाएको थियो। तर अदालतले उक्त आरोप पुष्टि नहुँदा शाहीसहित अन्यलाई सफाइ दिएको हो।