काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावलाई कारण देखाउँदै निगमले नयाँ मूल्यसूची लागू गरेको हो।
निगमका अनुसार आज दिउँसो १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धनको मूल्य वृद्धि गरिएको हो। सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २५–२५ रुपैयाँ वृद्धि गरिएको छ।
यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ वृद्धि गरिएको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ बढाइएको निगमले जनाएको छ।
नयाँ मूल्यसूचीअनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २०७ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी एलपी ग्यास प्रतिसिलिन्डर २ हजार १० रुपैयाँ पुगेको छ भने आन्तरिक हवाई इन्धन प्रतिलिटर २५७ रुपैयाँ निर्धारण गरिएको छ।
सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा लिइँदै आएको शुल्कमा ५० प्रतिशत छुट दिए पनि घाटा कम नभएपछि मूल्य समायोजन गर्नुपरेको निगमको दाबी छ। मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने बताइएको छ।









