काठमाडौंबाट लुम्बिनीसम्म ‘पेडल फर पीस’ : शान्तिको सन्देश बोकेर साइकल यात्रा हुँदै

काठमाडौं । शान्ति, सहअस्तित्व र विश्वव्यापी ऐक्यबद्धताको सन्देश फैलाउने उद्देश्यसहित ‘टुर डे लुम्बिनी : पेडल फर पीस २०२६’ आयोजना हुने भएको छ। कार्यक्रम अन्तर्गत वैशाख १५ देखि १९ गतेसम्म काठमाडौंबाट लुम्बिनी सम्म साइकल यात्रा गरिने आयोजकले जनाएको छ।

टुर डे लुम्बिनीका संस्थापक मेघ आलेका अनुसार साइकल यात्रामा नेपाल तथा विदेशका साइकल यात्री, युवा, कर्पोरेट क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहनेछ। सन् २०१२ देखि निरन्तर सञ्चालन हुँदै आएको यस अभियानले जनस्तरसम्म शान्तिको सन्देश पुर्‍याउने लक्ष्य लिएको छ।

सामाजिक उद्यमी आलेको अवधारणामा सुरु भएको अभियानलाई विश्व साइकल यात्री पुष्कर शाहले नेतृत्व गर्दै आएका छन्। गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने लक्ष्यसहित कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ‘शान्ति केन्द्र’का रूपमा स्थापित गर्ने दीर्घकालीन उद्देश्य राखेको छ।

नेपाल भारत र चीनजस्ता दुई ठूला अर्थतन्त्रबीच अवस्थित भएकाले विश्व शान्तिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना रहेको आयोजकको भनाइ छ। अभियानमार्फत नेपाललाई शान्ति संवादको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने प्रयास भइरहेको छ।

यस वर्षको संस्करण विशेषगरी युवाको सक्रिय सहभागितामा केन्द्रित रहने जनाइएको छ। डिजिटल युगमा युवाको संलग्नतालाई शारीरिक सहनशीलता र सामाजिक उत्तरदायित्वसँग जोड्दै दिगो, पारदर्शी र शान्तिपूर्ण भविष्यका लागि आवाज उठाउने मञ्चका रूपमा अभियानलाई विकास गर्ने लक्ष्य राखिएको छ। यात्राका विभिन्न चरणहरूमा स्थानीय समुदायको पनि सहभागिता रहनेछ।

पत्रकार सम्मेलनमा बोल्दै संस्थापक आलेले विश्वव्यापी रूपमा बढ्दो द्वन्द्व, विशेषगरी रूस–युक्रेन युद्ध तथा अमेरिका–इरान तनावले अस्थिरता बढाएको सन्दर्भमा यस्ता शान्ति अभियानको महत्त्व अझ बढेको बताए। अभियानले आगामी दिनमा शान्ति क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई ‘लुम्बिनी शान्ति पुरस्कार’ प्रदान गर्ने योजना पनि अघि सारेको छ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले यस्ता कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय सहभागीहरूको संख्या बढाउन सके अभियान थप प्रभावकारी हुने र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए।

त्यस्तै बोर्डका मिडिया कन्सल्टेन्ट दिलिप प्रकाश कार्कीले विश्वव्यापी द्वन्द्वरत पक्षलाई लुम्बिनीमा बोलाएर शान्ति संवाद गराउन सके कार्यक्रमको महत्व अझ बढ्ने धारणा राखे।

‘टुर डे लुम्बिनी–पेडल फर पीस’ अभियानले साइकल यात्रामार्फत शान्ति, सहअस्तित्व र विश्वव्यापी एकताको सन्देश प्रवाह गर्दै आएको छ।