काठमाडौं।आफूलाई ‘नेपाली ब्रो’ तथा प्रो रेस्लरका रूपमा चिनाउने ४२ वर्षीय कुमार थापा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारस्थित घरमा शुक्रबार राति भएको घरायसी विवादका क्रममा थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए।
राति करिब १०:१० बजे गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि थापालाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामबाट चिनिने थापाले आफूलाई प्रो रेस्लरका रूपमा परिचित गराउँदै आएका थिए। प्रहरीले घटनाको कारण र अन्य पक्षबारे अनुसन्धान जारी रहेको जनाएको छ।









