दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाको प्रथम जिल्ला अधिवेशनबाट दिनेश बस्नेत पुनः जिल्ला सभापतिमा निर्वाचित भएका छन्। सदरमुकाम चरिकोटमा सम्पन्न अधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट उपसभापतिमा कृष्णबहादुर खड्का, सचिवमा रमेश कुमार श्रेष्ठ तथा सहसचिवमा अर्जुन कार्की निर्वाचित भएका छन्।
जिल्ला सदस्य पदमा दलित महिला सदस्यतर्फ मन्दिरा खाती निर्विरोध निर्वाचित भएकी छन्। अन्य सदस्य पदका लागि भएको निर्वाचनमा खुला सदस्यतर्फ चिरञ्जीवी खरेल, आदिवासी जनजाति सदस्यतर्फ सन्ता थामी, महिला सदस्यतर्फ प्रजिना थापा तथा दलित पुरुष सदस्यतर्फ हिरो भित्रीकोटी विजयी भएका छन्।
रास्वपा दोलखाको जिल्ला समिति २१ सदस्यीय रहने व्यवस्था छ। समितिमा जिल्लाका नौवटै स्थानीय तहका सभापतिहरू पदेन सदस्य रहनेछन्। साथै जिल्ला सभापतिले थप दुई महिला सदस्य मनोनयन गर्ने प्रावधान रहेको छ।
निर्वाचित दुई र मनोनित हुने दुई गरी चार महिला सदस्यमध्येबाट एक जनालाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिने जनाइएको छ।









