तामाङ स्रष्टा सम्मान तथा विशेष सांगीतिक कार्यक्रम सम्पन्न : चन्द्रकुमार दोङ सम्मानित

काठमाडौं। तामाङ भाषा, संस्कार, संस्कृति, संगीत तथा मौलिक पहिचानको संरक्षण र पुस्तान्तरणमा योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मान गर्दै ‘तामाङ स्रष्टा सम्मान तथा विशेष सांगीतिक गेताङ’ सम्पन्न भएको छ।

‘तामाङ स्रष्टादा डेन, खाबा पुस्तादा ठागे ज्ञान’ भन्ने मूल नाराका साथ नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको आयोजना तथा नेपाल तामाङ संस्कृति घेदुङ र झ्याम्याङ लामा प्रतिष्ठानको सहआयोजनामा कार्यक्रम गरिएको हो।

तामाङ संस्कार तथा संस्कृतिका मर्मज्ञ झ्याम्याङ लामाको १०७औँ स्मृति दिवस तथा ‘संगीत सम्राट’ गोपाल योञ्जनको ८३औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रम नेपाल तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष सञ्चु ब्लोन तामाङको संयोजकत्वमा भएको थियो। कार्यक्रममा घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङ प्रमुख अतिथि थिए।

सहआयोजक नेपाल तामाङ संस्कृति घेदुङका संघीय अध्यक्ष छेवाङ तेन्जिङ लामाले स्वागत मन्तव्य व्यक्त गर्दै झ्याम्याङ लामाले तामाङ संस्कार, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र पुस्तान्तरणमा पुर्‍याएको योगदानको चर्चा गरे।

लेखक तथा अनुसन्धानकर्ता रवीन्द्र ग्याबक–तामाङले झ्याम्याङ लामाको व्यक्तित्व तथा तामाङ समुदायका संस्कार, संस्कृति र परम्पराका क्षेत्रमा उनले पुर्‍याएको योगदानबारे चर्चा गर्दै सम्मान व्यक्त गरे।

कार्यक्रममा झ्याम्याङ लामाकै शब्दरचना रहेको ‘सा छ्या, नम छ्या’ (सृष्टिको गीत) तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तानले प्रस्तुत गरेका थिए। यस्तै, वरिष्ठ गायिका कुन्ती मोक्तानले संगीत सम्राट गोपाल योञ्जनको गीत प्रस्तुत गरिन् भने छेवाङ तेन्जिङ लामाले गोपाल योञ्जनको गायन, शब्द तथा संगीत रहेको ‘ङाला डम्फु’ प्रस्तुत गरे। गायिका लक्ष्मी स्याङ्तान, योजम तामाङ, विपना तमाङ लगाएतका प्रस्तुति रहेको थियो

कार्यक्रममा वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान, वरिष्ठ गायिका कुन्ती मोक्तान तथा वरिष्ठ गायक एवं संगीतकार चन्द्रबहादुर दोङको विशेष उपस्थिति थियो। वरिष्ठ संगीतकार एवं सेलो गायक चन्द्रकुमार दोङलाई कार्यक्रममा विशेष सम्मानसमेत गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोनले तामाङ भाषा, संस्कार, संस्कृति, संगीत र मौलिक पहिचानको संरक्षण तथा पुस्तान्तरणलाई प्राथमिकतामा राखिएको बताए। घेदुङले नयाँ ढंगबाट सहकार्य गर्दै सबैको आशा र गर्वको संस्था बनाउने दिशामा काम गरिरहेको उनको भनाइ थियो।

आयोजकका अनुसार तामाङ समुदायको मौलिक संस्कृति र परम्परालाई अभिलेखीकरण गरी नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको सञ्चालन घेदुङका महासचिव लिलाकुमार ग्लानले गरेका थिए।

यसैबीच, नेपाल तामाङ घेदुङले सोमबार बिहान १० बजे घेदुङ सभाहलमा ‘तामाङ ज्ञान–संस्कृति विमर्श कार्यक्रम’ आयोजना गर्ने भएको छ।

कार्यक्रममा मानवशास्त्री डा. मुक्तसिं थोकर, संस्कृतिविद् बुद्धि तामाङ, भाषा तथा लिपिविज्ञ अजितमान तामाङ, राजेन्द्र थोकर तामाङ तथा वरिष्ठ पत्रकार कुमार यात्रु–तामाङले कार्यपत्र प्रस्तुत गर्नेछन्। सिक्किम, भारतका डा. चन्द्रा योञ्जन तामाङसँग अनुभव आदानप्रदान कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ।