चितवन। बाढीले सडक बगाएपछि अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा १८ दिनपछि बिहीबार बिहानदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ।
गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा करिब १ सय मिटर सडक भासिएको थियो। सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि यातायात अवरुद्ध भएको थियो।
नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर धीरज ढकालका अनुसार सडक सञ्चालनका लागि नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक निर्माण गरिएको हो। गत भदौ १८ गतेदेखि सुरु गरिएको ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको काम बुधबार साँझ सम्पन्न भएपछि बिहीबारदेखि नियमित रूपमा दुईतर्फी यातायात सञ्चालन गरिएको उनले बताए।
‘सडक भासिएपछि नयाँ ट्र्याक खोल्नुपर्ने अवस्था आएको थियो,’ ढकालले भने, ‘बुधबार साँझसम्म काम सकेर बिहीबार बिहानदेखि नियमित रूपमा यातायात सञ्चालन गरेका छौं।’
नदी कटानबाट सडक क्षतिग्रस्त भएपछि पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको काम अघि बढाएको थियो। सडकमा लामो समयदेखि रोकिएका सवारीलाई दुई दिनअघिदेखि साँझको समयमा क्रमशः कटाइएको थियो।
कृष्णभीरमा यातायात सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो रोकथामका लागि आंशिक रूपमा रोकिएको यातायात पनि बिहीबारदेखि सञ्चालनमा ल्याइएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तत्कालका लागि तुइन खोलामा यातायात रोकेर भइरहेको पहिरो रोकथामको काम स्थगित गरिएको जानकारी दिए।
कृष्णभीरमा लामो समयसम्म सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन राजधानी काठमाडौं आवतजावत गर्न सकेका थिएनन्। त्यसको असर आपूर्ति व्यवस्थामा समेत परेको थियो। राजधानीमा एलपी ग्यासको अभाव देखिनुमा सडक अवरोध पनि एउटा कारण बनेको थियो।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीमा पानीको बहाव बढेको थियो। त्यसपछि भदौ १४ गते पुनः आएको बाढीले कृष्णभीरसहित पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक क्षति पुर्याएको थियो। अन्य स्थानमा यातायात सहज भए पनि कृष्णभीरमा सडक नै भासिएपछि लामो समयसम्म समस्या भएको हो।
पृथ्वी राजमार्गको उक्त सडकखण्ड हुँदै दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन्।









