गुलाफः अध्यारोबाट उज्यालोको यात्रा

अभिनयसँगै संवादसहितको नाटक हेरिरहेका आम नाट्य प्रेमीहरुका लागि भने ‘गुलाफ’ले फरक स्वाद दिन सक्छ । यशोधराको सौम्यदेखि रौद्र रुप र उनको जागरण यात्राले अन्त्यमा सुखद अनुभूति दिलाउँछ ।

सिद्धार्थ गौतमले ज्ञानको खोजीमा दरवार त्यागे । दरवारको राजर्षि सुखसयल मात्र होइन नाबालक छोरा राहुल र पत्नी यशोधरालाई कुनै सुइको नै नदिई मध्यरातमा सुटुक्क दरवारबाट बाहिरिए । भनिन्छ, यशोधराले यसबारे बाह्य संसार र परिवारभित्र कुनै तिक्तता पोखिनन् । सिद्धार्थबारे कोही कसैसँग आलोचना वा विवेचनाबिनै उनले पतिको ज्ञानको यात्रालाई सहर्ष स्विकारिन् । उनी आफैं पनि दरवारको आभूषण, अलङ्कार र सुखसयल त्यागेर पहेँलो वस्त्र धारण गरी चुपचाप दरवारको एक छेउमा बसी छोरा राहुलको लालनपालनमा लागिन् । यो उनको सिद्धार्थको बुद्धत्व प्राप्तिका लागि मन, वचन र कर्मले गरेको स्विकारोक्ति थियो । अचानक पतिले दरवारमा नाबालक छोरासहित उनलाई छोडेर हिँडेपछि उनको मानसिक स्थिति कस्तो भयो र उनीभित्र के–के बिते ? उनको मानसिक विचलनको अवस्था के थियो ?’ यी यावत् कुरा यशोधराकाबारे खासै चर्चा गरिएको पाइँदैन । आखिर उनको मौनता र आफैंभित्रको स्वकारोक्तिभित्र पनि कैयन पीडाहरु थिए होलान्, जुन कुरा उनले बाहिर ल्याइनन् । जसलाई बाह्य दुनियाँले उनको महानताका रुपमा लिए । उनको महानताभित्र जेलिएका तिनै मानसिक विचलन, छट्पट्टी र उनीभित्रै जेलिएका पीडाहरुलाई नाटक गुलाफ मार्फत रंगमञ्चमा प्रस्तुत गरिएको छ ।
रंगकर्मी रामहरि ढाकालको परिकल्पना तथा निर्देशनमा तयार गरिएको नाटकले मुख्यतः सिद्धार्थले दरवार त्यागेर हिँडेपछि पत्नी यशोधरामा आएको मानसिक स्थितिलाई इंगित गरेको छ । यशोधरा र उनको प्रतिबिम्बका रुपमा कलाकारहरु दिया मास्के र सरिता साहलाई मञ्चमा देख्न सकिन्छ ।
बन्द रंगमञ्चभित्र दर्शक वरिपरी घेरिएको बीचमा मञ्च सुशोभित देखिन्छ । जहाँ दर्शकले यशोधराको रुपलाई देख्न सक्छन् । यशोधरा र उनको प्रतिबिम्ब मञ्चको चौघेरामा सुस्त गतिमा परिक्रममा गरिरहन्छन् । मीठो सुर र लय, मन्द मुस्कान एवं मनोरम दुनियाँमा मनमगन रहेकी यशोधरामा अचानक पीडाको विपत्ति आउँछ । दरवारमा सिद्धार्थले दरवार छोडेको गाइगुइ जताततै खासखुस सुनिन्छ । यो कुरा दर्शकको कानसम्म पर्छ । आफ्नै खुसीको लयमा बहकिरहेकी यशोधराको मुहारमा पीडा भरिन्छ । त्यसपछि उनको सकस सुरु हुन्छ ।

घरि उनी उठ्नलाई जोड गर्छिन्, घरी उभिन र घरि दौडिनलाई उत्तिकै जोडबल गर्छिन् । उनी आफ्नै छायाँसँग लड्छिन्, लडाइँमा उत्रन्छिन्, त्यसैलाई चिथोर्छिन्, कोपर्छिन् र सँगसँगै आफैं थुनिएको पर्दालाई तानेर शरीरका विभिन्न भागमा दबाउन खोज्छिन् । पर्दाहरु दबाउँदा–दबाउँदै आफ्नै शरीरलाई नियाल्दै उनी फेरि भक्कानिन्छिन् । ती सबै पर्दाहरु पुनः शरीरबाट निकाल्दै गोलाकार आकृतिमा ल्याउँदै गर्दा यशोधराको वरिपरी कमलका फूलहरु उनका वरिपरी हुन्छन् । आकाशमा ताराहरु चम्किन्छन् । त्यसैबेला यशोधराले आम मानिसहरुलाई आफैंसँग केहीबेर समाहित गर्छिन् अनि दुई हात जोडेर बिदा सहित उज्यालो द्वारतिरको यात्रामा लाग्छिन् ।
खासमा यी सबै दृश्यहरुमा यशोधराको जागरण यात्रालाई प्रस्तुत गर्ने जमर्काे ढकालले गरेका छन् । रंगमञ्चमा नौलो सिर्जना पस्कन जमर्काे गरिरहने ढकालले यसपल्ट पनि आम रुपमा चलिरहेको थिएटर प्रस्तुति भन्दा फरक गर्ने प्रयास गरेका छन् । ‘गुलाफ’मा यशोधराको मानसिक यात्राको उत्तारचढावलाई उनले संवाद बिना नै प्रस्तुत गरेका छन् । ‘इनसाइड–आउटसाइड’, ‘चक्र’ जस्ता इन्द्रेयीहरुमार्फत महसुस गराउने संवेदी नाटकहरु गरिसकेका उनले यसपल्ट शारीरिक भावभंगीमा यशोधराको मानसिक विचलनको कथालाई भन्ने प्रयास गरेका छन् । हुन त नेपाली रंगमञ्चमा यो पहिलो पल्ट भएको भने पक्कै होइन् । गीत, संगीत, नृत्य तथा शारीरिक भावभंगीमा नाटकहरु यसभन्दा अघि भएपनि थोरै अभ्यासमा छन् ।
नाटक ‘गुलाफ’मा देखिका दिया र सरिता दुवै यशोधराककै भूमिकामा शरीर र आत्माको रुपमा छन् भन्ने सुरुवाती चरणमा भान हुन्छ । दुवैको मुहारको रौनकता, शरीरको लचकता र गति समान देखिँदा दर्शकमा यशोधराकै रुप आउँछ । प्रकृतिको रौनकतासँगै पुतलीको उडान र फूल टिपि रहेको दृश्यले दुई पात्रहरु हुन् कि भन्ने कता– कता महसुस हुन्छ । यद्यपि नारी भाव, प्रकृतिको सौन्दर्य र माधुर्य लयमा यशोधराको यौवनलाई तादाम्यता मिलाउन ढकालले सुन्दर संयोजन गरेका छन् । चौघेराभित्र दुई पात्रलाई भुइँमा भएको सकसले यशोधरालाई दरवारभित्र आफू भएर उभिन उत्तिकै कठिन भएको थियो भन्ने लाग्छ । वरिपरी लगाइएका पर्दाहरु दरवारका पर्खालहरु भएको यसै अनुमान लगाउन सकिन्छ । जब पर्दाहरु चुडिन्छन्, तब लाग्छ यशोधरा दरवारको चौघेराभन्दा बाहिर आफूलाई उभ्याउन सार्थक भइन् । पर्दाहरु शरीरभित्र कोचिँदै गर्दा आम समाज र महिलामाथि राखिने सबै दृष्टिकोणहरु, सबै पीडाका भारीहरु स्वयं यशोधराले आफैंभित्र सहन गर्दै थिइन् झै लाग्छ । जब पर्दाहरु शरीरबाहिर निकालेर यशोधरा भक्काइन्, तब मससुस हुन्छ, आफैंभित्र  निस्सासिएका उनका पीडाहरु बाहिर आए । त्यसपश्चानत्, उनले संसारलाई नियालिन् र आफैंमाथि चित्त बुझाइन् । ती सबै विगतलाई उनले उज्यालोको संसारमा लैजाने प्रण गरिन् ।


अन्तिम दृश्यमा सेतो पर्दाहरुले घेरिएर बनाइएको गोलाकार तालको आकृति र त्यसैमाथि आएका कमलका फूलहरुले यिनै अर्थ प्रतिबिम्बित गर्छन् । अध्यारो दृश्यमा चम्किएका ताराको दृश्य झनै मनमोहक र अर्थपूर्ण देखिन्छ ।
मञ्चमा दुई कलाकारहरुको सकसपूर्ण अवस्थाको भावभंगीले केही अलमल्याउन सक्छ । सिद्धार्थ दरवार छोडेर गएको थाहा पाएका दर्शकले यशोधराको सकसपूर्ण अवस्था कुन परिस्थितिमा आयो भन्ने पत्तो पाउन सक्दैनन् । पूर्ण अमूर्त फर्ममा प्रस्तुत गरिएको कला प्रस्तुतिले दर्शकले अनेक अर्थ लगाउन सक्छन् । हुन त अमूर्त फर्मको कला नै दर्शकको मस्तिष्कमा उठेका अनेक भावहरुलाई सम्बोधन गर्न सक्नु हो । दर्शकले आफ्नै भाव र तरंग अमूर्त कलामार्फत स्थापित गर्न सक्छन् । नाटकमा यशोधराको मानसिक स्थितिलाई प्रस्तुति गरिएको हुनाले उनको मातृत्व, दरवारप्रतिको दायित्व र आम समाजप्रति उनले राखेको दृष्ट्रिकोणको पाटोलाई थोरै ध्वनीकै माध्यममा आम दर्शकले महसुस गर्न पाएमा यशोधराको संघर्षलाई अझै नजिकबाट नियाल्न पाउँथे भन्ने नाटकका दृश्यहरु हेर्दै गर्दा लागिरहन्छ । समग्रमा नाटकले दृश्य होस् या नाटकमा प्रयुक्त प्रकाशका रङहरुले पनि यशोधराको पीडादेखि सुखद पल, अँध्यारोबाट उज्यालोको यात्रालाई संकेत गरेका छन् ।
अभिनयसँगै संवादसहितको नाटक हेरिरहेका आम नाट्य प्रेमीहरुका लागि भने ‘गुलाफ’ले फरक स्वाद दिन सक्छ । यशोधराको सौम्यदेखि रौद्र रुप र उनको जागरण यात्राले अन्त्यमा सुखद अनुभूति दिलाउँछ ।
पुस २२ गतेसम्म मञ्चन हुने नाटकमा मञ्च निर्माण हुम वि.सी.प्रकाशमा उमेश तामाङ, ध्वनीमा देव न्यौपाने र मञ्च व्यवस्थापनमा केदार श्रेष्ठ छन् ।

SHARE