बलिउड फिल्मका सबैभन्दा धनी निर्माता

फिल्म क्षेत्रबाट राम्रो कमाइ हुन्छ। राम्रो विषयवस्तुलाई प्राथमिकता दिने निर्माताले बक्स अफिसमा राम्रो पैसा कमाउँछन्। करण जोहर, भुषण कुमार, आदित्य चोपडा, एकता कपूर बलिउड फिल्मका चर्चित निर्माता हुन्। तर सबैभन्दा धनी निर्माता हुन् रोनी स्क्रुवाला।

भारतीय सञ्चारमाध्यम डिएनएका अनुसार उनको कुल सम्पत्ति १२ हजार ८ सय करोड भारू छ। उनले ७० को दशकमा टुथपेस्ट उत्पादनको काम सुरू गरेका थिए। त्यसपछि सन् १९८१ मा केबल टिभीको व्यवसायमा लागे। मनोरञ्जनको दुनियाँमा यो उनको पहिलो कदम थियो।

उनले ३७ हजार भारू लगानीमा युटिभी स्थापना गरेका थिए। उनले आफ्नो प्रोडक्सन हाउसबाट ‘स्वदेश, जोधा अकबर, फेशन, बर्फी, चेन्नई एक्सप्रेस’ लगायत थुप्रै फिल्म निर्माण गरे। सन् २०१२ मा उनले आफ्नो कम्पनीको सेयर डिज्नीलाई बेचे। त्यसपछि उनले आरएसभिपी मुभिज नामको प्रोडक्सन हाउस सुरू गरे। यस प्रोडक्सन हाउसबाट उनले ‘उरीः द सर्जिकल स्ट्राइक’, ‘केदारनाथ’ लगायत फिल्म बनाएका छन्।

रोनी स्क्रुवालाले नेटवर्थको मामिलामा फिल्म निर्माताहरूको शीर्ष स्थानमा छन्। आदित्य चोपडा ७५०० करोड भारूको कुल सम्पत्तिका साथ दोस्रो नम्बरमा छन्। तेस्रो नम्बरमा इरोसका अर्जन र किशोर लुल्ला छन्।उक्त सूचीको चौथो नम्बरमा करण जोहर छन्। उनको कुल सम्पत्ति १७०० करोड भारू छ। १६०० करोड भारू कुल सम्पत्तिका साथ गौरी खान पाँचौ र १५०० करोड भारू कुल सम्पत्तिका साथ आमिर खान छठौं नम्बरमा छन्। साजिद नाडियाडवाला, भूषण कुमार र एकता कपूरको सम्पत्ति १००० करोड भारूमाथि छ।

SHARE