नेपाल विश्वविद्यालयलाई नाफारहित बनाउने एमालेको प्रस्ताव

नेकपा एमालेले प्रस्तावित नेपाल विश्वविद्यालयलाई मुनाफारहित बनाउने प्रस्ताव गरेको छ । सरकारले गैरसरकारी क्षेत्रमा सार्वजनिक विश्वविद्यालय स्थापना र सञ्चालन गर्नका लागि नेपाल विश्वविद्यालय विधेयक ल्याएको छ ।राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा दफावार छलफलमा रहेको विधेयकमाथि संशोधन प्रस्ताव गर्दै एमालेले नेपाल विश्वविद्यालयलाई मुनाफारहित बनाउने भनेको छ ।

प्रस्तावित विधेयकको दफा ३ मा विश्वविद्यालय स्थापना सम्बन्धी व्यवस्था छ । जहाँ अन्तरविधात्मक अवधारणा (लिबरल आर्टस्) मा आधारित बहुविधागत गुणस्तरीय अध्ययन, अध्यापन र अनुसन्धान मार्फत दक्ष, सिर्जनशील र प्रतिस्पर्धी मानवस्रोतको उत्पादन गर्न, नवीनतम ज्ञानको सिर्जना र नवप्रवर्तक गर्दै समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्‍याउन मुनाफा वितरण नगर्ने गैरसरकारी क्षेत्रको सार्वजनिक विश्वविद्यालयको रुपमा नेपाल विश्वविद्यालय स्थापना गर्ने भनिएको छ ।

तर, राष्ट्रिय सभाले यो प्रस्तावित व्यवस्थामा रहेको ‘मुनाफा वितरण नगर्ने गैरसरकारी क्षेत्रको सार्वजनिक विश्वविद्यालयको रुपमा’ भन्ने शब्द झिकेर विधेयक पारित गरेर प्रतिनिधि सभामा पठाएको छ । राष्ट्रिय सभाले झिकेका शब्दहरु थप गर्नुपर्ने एमाले सांसदहरुको प्रस्ताव छ ।

‘विधेयक (राष्ट्रिय सभाकबाट पारित भएको विधेयकको प्रतिवेदन)को दफा ३ को उपदफा १ मा ‘मुनाफा वितरण नगर्ने गैरसरकारी क्षेत्र’ भन्ने व्यवस्था थप गर्नुपर्ने’ एमाले सांसद ठाकुर गैरेको प्रस्ताव छ ।एमालेका बाँकी ७ जना सांसदले भने विधेयककोे दफा ३ को उपदफा १ ‘मुनाफा रहित’ भनी लेख्नुपर्ने व्यवस्था प्रस्ताव गरेका छन् ।

एमाले सांसदहरुले राखेको संशोधन प्रस्ताव स्वीकृत भएको खण्डमा लिबरल आर्टस्मा आधारित मुनाफा रहित नेपाल विश्वविद्यालय स्थापना हुनेछ ।२० मंसिर २०७९ मा दर्ता भएको यो विधेयक १८ असार २०८० मा राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो । हाल यो विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा छ ।

SHARE