बागमती प्रदेशमा तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा शुभारम्भ

बागमती प्रदेशमा तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा शुभारम्भ भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौंको बसन्तपुरमा आज सोमबार भएको कार्यक्रममा  तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा शुभारम्भ गरेका हुन्।

बागमतीको गत वैशाख १२ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार सोमबार प्रदेशभर सार्वजनिक बिदासमेत दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा बनाउने मन्त्रिपरिषदको वैशाख १२ को निर्णय राजपत्रमा वैशाख २० गते प्रकाशित भइसकेको छ।

बागमती प्रदेशमा तामाङ र नेपाल भाषा बोल्ने समुदाय छन्। नेपाल तामाङ बोम्बो संरक्षण समाज, नेवा देय दबू यललगायत विभिन्न संघ संस्थाको र्‍यालीसहित बसन्तपुरमा कार्यक्रम सम्पन्न गरेका छन्।

SHARE