चलचित्र ‘ह्याङ तामाङ’ को भयो शुभ मुहूर्त, तामाङ र नेपाली भाषामा बन्ने

काठमान्डौं । चलचित्र ‘ह्याङ तामाङ’ अर्थात् ‘हामी तामाङ’को शुभ मुहूर्त गरिएको छ । बिहीबार अर्थात् लक्ष्मीपूजाको दिन राजधानीस्थित उत्तरगया मन्दिरमा चलचलित्रको शुभ मुहूर्त गरिएको हो ।

चलचित्र तामाङ भाषाको अलावा नेपाली भाषामा पनि बनाइनेछ । चलचित्रको लेखन निमा लामा तामाङले गरेका हुन् । उनले नै निर्देशनसमेत गर्नेछन् ।

दर्जन बढी तामाङ भाषाका चलचित्र निर्देशन गरिसकेका तामाङले ‘ह्याङ तामाङ’ अन्य चलचित्रभन्दा पृथक बन्ने दाबी गरे । चलचित्रको कथावस्तु नै बनिसकेका २०० बढी तामाङ चलचित्रभन्दा फरक रहेको उनको दाबी छ ।

तामाङ भाषामा मात्र नभएर नेपाली भाषामा समेत चलचित्र बनाइने भएकाले चलचित्र सबै नेपालीका लागि भएको उनको भनाइ छ ।

‘चलचित्र नेपाली भाषामा पनि बन्छ । यसको सबटाइटल मात्र होइन । यसपटक सेन्सर गरिन्छ’, उनले भने, ‘तामाङ भाषाका चलचित्र सेन्सर बोर्ड नलाने अनि हामी तामाङ भाषाको चलचित्रलाई स्थान नै दिँदैन भनेर दुःख पोखिरहने गरेर मात्र हुँदैन । हामी आफैँ अगाडि बढ्नुपर्छ ।’

अभिनेता जय स्याङतानले चलचित्र राम्रो बन्ने अपेक्षा रहेको बताए । चलचित्रको कथा सबै थाहा नभएपनि आफ्नो भूमिका राम्रो रहेको उनको भनाइ छ ।

तामाङ चलचित्रलाई माथि उठाउनका लागि आफू अभिनय गर्न तयार भएको अभिनेता अभि लामाको भनाइ छ । आफ्नो भूमिकालाई भन्दा पनि सिङ्गो चलचित्रको उत्थानलाई माथि राखेको उनले बताए । ‘भूमिका भन्दा पनि तामाङ फिल्मलाई कसरी माथि उठाउने भनेर हामी एकजुट भएर आएका छौँ’, उनले भने, ‘चलचित्रको नाम नै ह्याङ तामाङ अर्थात् हामी तामाङ भन्ने छ । यसको मतलब सबै एकजुट हुनुपर्छ भन्ने हो ।’

उनले चलचित्र ‘कमर्सियल’ बन्ने र तामाङ चलचित्रमा ‘कासेढुङ्गा’ हुने अपेक्षा रहेको बताए ।

त्यस्तै लामो समयपछि चलचित्र अभिनयमा फर्कन लागेकी अभिनेत्री अनिता गोलेले सिङ्गो तामाङ समुदायलाई नेतृत्व प्रदान गर्ने कथावस्तु चलचित्रमा रहेको बताइन् । उनले चलचित्रबाट आफ्नो अभिनय करियर सुरु गरेपनि म्यूजिक भिडियोलगायतमा व्यस्त रहेकाले चलचित्र गर्न नसकेको खुलाइन् ।

निर्माता प्रबल थिङ तामाङले आफ्नो समुदाय, भाषा, संस्कार तथा संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले चलचित्रमा लगानी गरेको बताए । कथा सुन्दा राम्रो लागेको र तामाङ एकता अभियान गर्ने भनेर लेखक तथा निर्देशकले भनेपछि आफू लगानीका लागि तयार भएको उनको भनाइ छ ।

यसैगरी तामाङ चलचित्र संघका अध्यक्ष दिपक लामाले निर्देशक निमा तामाङले निर्देशन गरेका पछिल्ला चलचित्र हेर्दा तामाङ चलचित्रले फड्को मारेको महसुस भएको बताए । उनले ‘ह्याङ तामाङ’ पनि उत्कृष्ट चलचित्र बन्ने विश्वास व्यक्त गरे ।

प्रतिस्पर्धाको समय भएकाले अब बन्ने चलचित्र परिस्कृत र उत्कृष्ट नै बन्नुपर्ने अध्यक्ष लामाको भनाइ छ । ‘अहिले कम्पिटिसनको जमाना छ’, उनी भन्छन्, ‘अब बन्ने चलचित्र राम्रो बन्नुपर्छ । अरू चलचित्रभन्दा राम्रो हुनुपर्छ ।’

चलचित्रमा जय स्याङतान, अभि लामा, सीताराम गोले, अनिता गोले ,कल्पना वाइबा, निर्मला मोक्तान, हिरोज लोप्चन, प्रबल थिङ, मनिष खड्कालगायतका कलाकारहरुको अभिनय देख्न सकिनेछ । उक्त चलचित्र मंगली माया स्याङतानको प्रस्तुति निर्माण प्रबल थिङ,सह- निर्माण कार्साङ लामा दोङको रहनेछ भने छायाङ्कन सुर्य लामाले गरिनेछ ।

लक्ष्मीपूजाको दिन चलचित्रको शुभारम्भ गरिएपनि छायाङ्कन भने मंसिरको पहिलो हप्ताबाट हुनेछ ।

SHARE