तामाङ चलचित्र प्रदर्शन भएको ऐतिहासिक दिनको सम्झनामा : ३० औँ संस्करणको तयारी

काठमाडौं – नेपालमा पहिलो पटक तामाङ चलचित्र प्रदर्शन भएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष मनाइँदै आएको तामाङ चलचित्र प्रदर्शन दिवस यस पटक पनि राजधानीमा भव्य तयारीसहित मनाइँदैछ ।
तामाङ चलचित्र संघका केन्द्रीय अध्यक्ष विनयक तामाङका अनुसार यस वर्षको दिवस,TFR सम्मान तथा सांस्कृतिक कार्यक्रम सहित चलचित्र विकास बोर्ड, चावहिलको हलमा आयोजना हुने भएको हो ।

३० औँ संस्करणको तयारी

अध्यक्ष तामाङले जानकारी दिएअनुसार यस पटक ३० औँ चलचित्र प्रदर्शन दिवसको रूपमा मनाउन लागिएको हो ।
यस अवसरमा कला, संस्कृति, भाषा र धर्मको संरक्षणमा योगदान गर्ने स्रष्टाहरूलाई सम्मान गरिनेछ भने नयाँ पुस्तालाई प्रोत्साहन गर्न २२ विधामा TFR सम्मान प्रदान गरिनेछ । साथै, चर्चित कलाकारहरूद्वारा सांस्कृतिक प्रस्तुति समेत हुनेछ ।

२२ विधामा TFR सम्मान

यस पटक सम्मानित हुने २२ विधाहरू यस प्रकार छन् : पत्रकार,निर्माता, निर्देशक, खलनायक, श्रृङ्गारकर्ता, हास्य कलाकार, खेलाडी, गीतकार, गायक, गायिका, सक्रिय कार्यसमिति सदस्य, अभिनेत्री, अभिनेता, निर्माता, सङ्गीतकार, ब्यानर (प्रोडक्सन हाउस), छायांकन, नायक, नायिका, सम्पादक, द्वन्द्व निर्देशक, नृत्य निर्देशक र सामाजिक अभियन्ता रहेको छ।

इतिहास : पहिलो तामाङ चलचित्र ‘सेमरी छोरङान’

तामाङ चलचित्रको यात्रा जयनन्द लामाको कथा र निर्देशनमा बनेको चलचित्र ‘सेमरी छोरङान’ बाट सुरु भएको हो । २०५१ सालमा निर्माण भएको र सन् १९९५ (२०५२ साल) मा उक्त चलचित्र भदौ १६ गते रसियन कल्चर हाउसमा च्यारिटी शोका रूपमा पहिलो पटक प्रदर्शन गरिएको थियो । भने २०५३ साल भदौ ३ गते सुचना तथा संचार मन्त्रालयले विशेषज्ञ अमृत योञ्जको नेतृत्वमा चलचित्रको चेकजाँच अर्थत सेन्सर गरिएको थियो । त्यही ऐतिहासिक दिनलाई स्मरण गर्न तामाङ चलचित्र संघले हरेक वर्ष भदौ १६ गते तामाङ चलचित्र प्रदर्शन दिवस मनाउँदै आएको छ ।

चलचित्र दिवसको महत्व

यस दिवसले केवल मनोरञ्जन उद्योग मात्र होइन, सम्पूर्ण तामाङ समाजलाई भाषा, संस्कृति, धर्म र पहिचानसँग जोड्ने गहिरो भूमिका निर्वाह गरेको छ । तामाङ समुदायलाई आफ्नै मौलिकता जोगाउन प्रेरणा दिएको छ । नेपाली चलचित्र उद्योगमा बहुभाषिक र बहुसांस्कृतिक दृष्टिकोणलाई संस्थागत गरेको छ । नयाँ पुस्तालाई कला, अभिनय र सिर्जनशीलता प्रति आकर्षित गर्ने माध्यम बनेको छ ।

 उपलब्धि र चुनौती

 तीन दशक लामो यात्रामा तामाङ चलचित्रले समुदायभित्र सांस्कृतिक चेतना जगाएको छ, परम्परागत कला–संस्कृतिलाई संरक्षण गर्दै विश्वभरका प्रवासी तामाङ समुदायसम्म आफ्नो पहिचान पुर्‍याएको छ । अझै पनि बजारको संकुचित दायरा, प्रविधि र प्राविधिक दक्षताको अभाव, लगानीको कमी जस्ता समस्या विद्यमान छन् । मुख्यधारा नेपाली चलचित्रसँग प्रतिस्पर्धा गर्न गुणस्तरीय सामग्री र अन्तर्राष्ट्रिय स्तरमा वितरण प्रणाली आवश्यक देखिन्छ ।

महासचिव बुद्धा तामाङले इतिहासको सम्मान गर्दै तामाङ चलचित्र उद्योगको भविष्य निर्माणमा सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताउँदै, “यो दिवस केवल अतीत सम्झने मात्र नभई नयाँ पुस्ताका लागि प्रेरणा र भविष्यका लागि मार्गचित्र कोर्ने अवसर हो” भन्दै सबैलाई एकजुट हुन आह्वान गरेका छन्।

 

SHARE