काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले ९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३ नुवाकोटको विदुर नगरपालिकास्थित इलम प्रशिक्षण केन्द्रमा जेठ २९, ३० र ३१ गते आयोजना गर्ने भएको छ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानले नेपाली लोकसंस्कृतिको संरक्षण, स्रष्टाको सम्मान तथा नवप्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो।
प्रतियोगितामा देशभरिबाट छनोट भएका १८ उत्कृष्ट समूहले सहभागिता जनाउनेछन्। प्रतिष्ठानका अनुसार सातै प्रदेशबाट छनोट भएका १४ समूह, उपत्यका समन्वय समितिका २ समूह तथा विदेश शाखाका २ समूहले रनिङ शिल्ड उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ, तृतीय हुने समूहले १ लाख रुपैयाँ तथा सान्त्वना पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसका अतिरिक्त उत्कृष्ट गायक, गायिका, नवगायक, नवगायिका, अनुशासित कलाकार तथा उत्कृष्ट भेषभूषा प्रस्तुत गर्ने कलाकारलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरको नेतृत्वमा आयोजना हुने प्रतियोगिताको अनुमानित बजेट ६८ लाख ४० हजार रुपैयाँ रहेको छ।
आयोजकका अनुसार प्रतियोगितालाई करिब २० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ। विभिन्न सञ्चारमाध्यम तथा डिजिटल प्लेटफर्ममार्फत स्वदेश तथा विदेशमा रहेका करिब ५० लाख नेपालीभाषी दर्शकमाझ कार्यक्रम पुग्ने विश्वास गरिएको छ।
लोकदोहोरी गीत तथा मौलिक नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास गरिएको प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आयोजकले सञ्चारकर्मी, लोकसंगीतप्रेमी तथा सर्वसाधारणलाई सहभागिताका लागि आग्रह गरेको छ।









