रास्वपा सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी ओरोपित लामिछानेलाई न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। कास्की जिल्ला अदालतमा बुधबार प्रतिवादी तर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गरेका थिए। सरकारी वकिलले जवाफी बहसका क्रममा सहकारी ठगी गरेको पर्याप्त प्रमाण भएकाले लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने तर्क गरेका थिए।

लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । यही पुस ७ गते सरकारी वकिलको कार्यालय, कास्कीले सहकारी ठगीको आरोपमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ ।

SHARE