किरात मुन्दुम अध्ययन केन्द्रले तीन दिने गोष्ठी सम्पन्न गरेको छ । केन्द्रले झापाको दमकमा ६८ बुँदे घोषणापत्र पारित गर्दै गोष्ठी सम्पन्न गरेको केन्द्रकी सहसचिव अधिवक्ता डा. शान्तिदेवी राईले जानकारी दिइन् ।
नयाँ पुस्तालाई मुन्दुम पुस्तान्तरण गर्ने तथा शिक्षासँग जोड्ने उद्देश्यका साथ पाठ्यक्रम सम्बन्धी गोष्ठी गरिएको डा. राईले बताइन् ।
‘मुन्दुमलाई शिक्षासँग नजोडेसम्म नयाँ पुस्ताले राम्रोसँग जानकारी लिन सक्दैन’, डा. राईले भनिन्, ‘लामो समयसम्म मुन्दुम ज्ञान बचाइराख्न यहाँभित्रका शैक्षिक ज्ञानहरु नयाँ पुस्तालाई प्रदान गर्नुपर्छ । त्यसैले पाठ्यक्रम निर्माण गर्न गोष्ठी गरिएको हो ।’
गोष्ठीबाट पारित घोषणाका आधारमा केन्द्रले मुन्दुम शिक्षणको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरिने बताइएको छ । त्यसपछि प्रदेश १ का जिल्लाहरुमा क्रमशः पढाइने डा. राईले जानकारी दिइन् ।
माघ १५ देखि १७ गतेसम्म चलेको गोष्ठीको आयोजना किरात मुन्दुम अध्ययन केन्द्रले गरेको थियो भने व्यवस्थापन केन्द्रका सुनसरी, झापा, मोरङ र इलाम जिल्ला समन्वय समितिले गरेका थिए ।










