रोशी (काभ्रे)। रोशी गाउँपालिका–३, शिखरअम्बोटेस्थित श्री देवी माध्यमिक विद्यालयको प्राङ्गणमा बाल संरक्षण तथा सम्बद्धन समितिको आयोजनामा शुक्रबार वडा स्तरीय नृत्य प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका सभापति टुल्कु लामाको अध्यक्षता र प्रथम रोशी गाउँपालिका अध्यक्ष डि.बी. मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न वडा स्तरीय नृत्य प्रतियोगिता कार्यक्रममा विभिन्न सामाजिक, सांस्कृतिक तथा पत्रकारिता क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता थियो ।
विशेष अतिथिहरू रोशी–३ का कार्यबाहक अध्यक्ष सीता लामा तामाङ, रोशी ११ का पूर्व वडा अध्यक्ष मिलन लामा, चलचित्र संघका केन्द्रीय सदस्य सम्भु मोक्तान तामाङ, र तामाङ पत्रकार संघ जिल्ला शाखा काठमाडौंका अध्यक्ष हिरोज लोप्चनलगायतको उपस्थिति रहेको थियो । साथै, अन्य विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले पनि कार्यक्रममा सहभागिता जनाएका थिए ।
प्रतियोगितामा रोशी वडा–३ भित्रका ६ वटा विद्यालयले प्रतियोगितामा आकर्षक नृत्य प्रस्तुति दिएका थिए । निर्णायक मण्डलको निर्णयअनुसार : प्रथम : श्री सरस्वती प्रा.वि. र श्री देवी मा.वि.,द्वितीय : श्री भिमशेन प्रा.वि.,तृतीय : श्री भुमेस्थान प्रा.वि.,चतुर्थ : श्री महाङ्काल प्रा.वि. र सान्त्वना : बाल ज्योति प्रा.वि. भएका थिए । विजयी विद्यालयहरूलाई प्रमुख अतिथि डि.बी. मोक्तानले विद्यालय सामग्रीका रूपमा पुरस्कार वितरण गरेका थिए । भने कार्यक्रमको संयोजन रामहरि राइमाझिले गरेका थिए ।
प्रमुख अतिथि डि.बी. मोक्तानले बालबालिकाले कला र संस्कृति सिक्दै आत्मविश्वास बढाउन यस्ता प्रतियोगिताले ठूलो भूमिका खेल्ने बताए । उनले भने, “गाउँपालिकाले यस्ता सिर्जनात्मक गतिविधिमा निरन्तर सहयोग गर्नेछ । नृत्य मात्र मनोरञ्जन होइन, हाम्रो पहिचान जोगाउने माध्यम हो । विद्यार्थीलाई यस्ता अवसर दिनु शिक्षाको महत्वपूर्ण हिस्सा हो ।”
त्यस्तै, अन्य अतिथिहरूले पनि यस्ता कार्यक्रमले विद्यालयबीच आपसी सद्भाव बढाउने मात्र नभई विद्यार्थीलाई आफ्नो प्रतिभा उजागर गर्न थप ऊर्जा दिने धारणा राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका सभापति टुल्कु लामाले कार्यक्रम समापन गदै उनले विजेता तथा सहभागी सबै विद्यालयलाई धन्यवाद दिँदै प्रतियोगितालाई प्रत्येक वर्ष निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
तस्विरहरु