जेनजी आन्दोलनपछि प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै, रास्वपा सहभागी नहुने

काठमाडौं । राजधानीमा जेनजी युवाले सरकारविरुद्ध गरेको आन्दोलनमा हिजो मात्र १९ जनाको ज्यान गएपछि मुलुकको राजनीतिक परिदृश्य थप तातेको छ। सो घटनापछि मुख्य प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले आज बिहान साढे ८ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको हो।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा बस्ने बैठकमा देशको पछिल्लो अवस्था, जेनजी आन्दोलनका माग, तथा विपक्षी दलहरुले आगामी दिनमा अपनाउने रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन्।

 माओवादी केन्द्रको अघिल्लो निर्णय

माओवादी केन्द्रको पदाधिकारी बैठकले हिजो मारिएका १९ जनालाई ‘शहीद’ घोषणा गर्नुपर्ने निर्णय गरेको थियो। साथै, आन्दोलन दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिनुपर्ने माग पनि अघि सारेको छ।
त्यस्तै, देशभरका पालिकामा सरकारविरुद्ध आन्दोलन र विरोध प्रदर्शन गर्ने रणनीति समेत तय गरिएको छ।

 रास्वपा सहभागी नहुने

तर, विपक्षी एकताको प्रयासलाई कमजोर बनाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने प्रचण्डले बोलाएको बैठकमा सहभागी नहुने भएको छ।
रास्वपा प्रवक्ता मनिष झाले, “आजको गम्भीर र असामान्य अवस्थामा हाम्रो प्राथमिकता कर्मकाण्डभन्दा पार्टीभित्रै सार्थक आन्तरिक छलफलमा जुट्नु हो” भन्दै बैठक बहिष्कार गर्ने औपचारिक घोषणा गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार, अहिलेको संकटपूर्ण अवस्थामा विपक्षी दलहरु एकताबद्ध भएर जनआन्दोलनलाई मार्गदर्शन गर्ने कि आ–आफ्नै राजनीतिक फाइदा खोज्ने भन्ने प्रश्न महत्त्वपूर्ण बन्न गएको छ।
यदि विपक्षी एकता कमजोर रह्यो भने आन्दोलनले दीर्घकालीन राजनीतिक दिशा पाउन कठिन हुने र अन्ततः सत्तापक्ष बलियो बन्ने सम्भावना बढ्ने उनीहरुको तर्क छ।

 

SHARE