पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आजदेखि थुनछेक बहस सुरु

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको थुनछेक बहस आजदेखि काठमाडौँ जिल्ला अदालतमा सुरु हुँदैछ। सोमबार सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेको अभियोगपत्रमा महराविरुद्ध ८ करोड ५५ लाख रुपैयाँ बिगो र ३ वर्ष कैद सजाय माग गरिएको छ।

महरालाई आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको खुमलटारस्थित निवासबाट पक्राउ गरेको थियो।

२०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रोनिक चुरोट (भेप)मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी बनाइएको हो।

सुनको अवैध पैठारी नियन्त्रण आयोगले महरालाई सो प्रकरणमा दोषी ठहर गर्दै पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो। अदालतमा आज हुने बहसपछि उनको थुनामुक्त वा थुनामा पठाउने निर्णय हुनेछ।

SHARE