काठमाडौँ । तिहारको भाइटीकाको अवसर पारेर नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ आजबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ। दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहेको यस चलचित्र हेर्न बिहानैदेखि दर्शकहरूको उल्लेख्य भीड देखिएको छ।
पहिलो शोदेखि नै ‘वरिष्ठ बलराम’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। चलचित्रले मनोरञ्जनका साथै सामाजिक सन्देश पनि दिएको दर्शकहरूको प्रतिक्रिया छ। विशेषगरी, प्राकृतिक स्रोतको दोहन र संरक्षण विषयमा आधारित कथालाई धेरैले “माटो सुहाउँदो कथा” भन्दै मन पराएका छन्।
निर्माण पक्षले प्रारम्भिक दर्शक प्रतिक्रियाबाट उत्साहित हुँदै चलचित्र व्यवसायिक रूपमा पनि सफल हुने विश्वास व्यक्त गरेको छ। अभिनेता विजय बरालसहितका कलाकारहरू बिहानैदेखि विभिन्न हलहरूमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।
चलचित्रको निर्देशन सुरेन्द्र पौडेलले गरेका हुन्। दयाहाङ राई र विजय बरालसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा र आन्भी फिल्म्सको सहकार्यमा बनेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन्। पहिलो दिनकै प्रदर्शनबाट ‘वरिष्ठ बलराम’ ले दर्शकमाझ सकारात्मक हावा चलाउन सफल भएको छ।










