काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा आज चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको नेतृत्वमा शीर्ष कलाकार, निर्देशक, निर्माता तथा चलचित्र संघ–संस्थाका प्रतिनिधिहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग भेटघाट गर्दै चलचित्र उद्योगको दिगो विकासका लागि ठोस सुझाव र प्रस्तावहरू प्रस्तुत गरेका छन्।
कार्यक्रममा अध्यक्ष डिसीले चलचित्र उद्योगको विस्तार र पुनरुत्थानका लागि सिनेमा हल नपुगेका जिल्लामा हल निर्माण गर्नेहरूलाई तीन वर्षसम्म सम्पूर्ण कर छुट, सामग्री आयातमा भन्सार छुट, प्राकृतिक प्रकोप वा द्वन्द्वका कारण बन्द भएका हल पुनः सञ्चालनमा कर छुट, र सञ्चालित हलहरूको स्तरोन्नतिमा भन्सार छुटको व्यवस्था गर्न प्रस्ताव राखेका थिए।
त्यसैगरी उनले चलचित्र ऐन संशोधन, कल्याणकारी कोष स्थापना, स्टुडियो निर्माण, सेन्सर सुधार र हातहतियारसम्बन्धी कानुनी स्पष्टताका विषयमा पनि माग गरेका थिए।
मन्त्री खरेलले चलचित्रकर्मीहरूको सबै माग र सुझावलाई सकारात्मक रूपमा लिइने बताउँदै आगामी नीतिगत सुधार र सहयोगका कार्यक्रमहरूमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।










