काठमाडौं । नेपालकै एकमात्र तेस्रो लिंगी महिला उम्मेदवार नुमा लिम्बु (चञ्चला)ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी मोरङ–४ बाट आफ्नो उम्मेदवारीलाई सहयोग गर्न आग्रह गरेकी छन्।
समावेशी समाजवादी पार्टीकी अध्यक्षसमेत रहेकी लिम्बुले कम्तीमा एक जना लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिको राजनीतिक सहभागिता सुनिश्चित गर्न सबै दलहरूले उम्मेदवारी फिर्ता लिनुपर्ने धारणा राखेकी हुन्।
लोकतन्त्र र समावेशिताको पक्षमा आफूलाई उभ्याउने दलहरूले व्यवहारमै त्यो प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो। “समावेशी समाजको कुरा गर्ने दलहरूले यति त गर्नै पर्छ,” उनले भनिन्।
यसै सन्दर्भमा झापामा भएको भेटमा लिम्बुले ओलीसँग प्रत्यक्ष सहयोगको आग्रह गरेकी थिइन्। भेटका क्रममा ओलीले नुमा लिम्बुको मागप्रति सकारात्मक प्रतिक्रिया दिँदै “कसरी सहयोग गर्न सकिन्छ, सहयोग गर्ने” बताएका छन्।
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व संसदीय राजनीतिमा अझै न्यून रहेको अवस्थामा नुमा लिम्बुको उम्मेदवारीलाई लोकतान्त्रिक अभ्यास र समावेशी राजनीतिका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।










