सौराहामा आइतबारदेखि ‘भ्यालेन्टाइन डे’ विशेष फुड फेस्टिबल सुरू

चितवनको सौराहामा आइतबारदेखि ‘भ्यालेन्टाइन डे’ विशेष फुड फेस्टिबल सुरू भएको छ।रेस्टुरेन्ट तथा बार एसोसिएसन सौराहाले पर्यटकीय गतिविधि बढाउने उद्देश्यले हरेक वर्ष भ्यालेन्टाइन डेको अवसर पारेर फुड फेस्टिबल आयोजना गर्ने गरेको छ। यो १८ औं संस्करण हो।

फेस्टिबल सुरू हुनुअघि सौराहा बजारमा विभिन्न जातजातिको कला, संस्कृति, भेष-भूषा, प्रदर्शन गरिएको थियो।रेवानका अध्यक्ष ध्रुव गिरीले फुड फेस्टिबलको अवसरमा स्थानीय खाना, स्वदेशी तथा विदेशी परिकारहरू उपलब्ध गराइने बताए।

यस्तै हात्ती चोकदेखि राप्ति ड्याकसम्मका होटेल तथा रेस्टुरेन्टहरूले पनि खानाका विभिन्न परिकारहरू तयार पारेर उपलब्ध गराउने मेलाका संयोजक सूर्यबहादुर रिमालले जानकारी दिए। मेला स्थलमा ५० वटा स्टलहरू राखिएका छन्। रेवान सौराहाका सचिव नवीन नेपालले फुड फेस्टिबलमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने बताए।

स्थानीय जनजातिका खानाको प्रदर्शनी तथा प्रतियोगिता, भ्यालेन्टाइन डे विशेष कार्यक्रम, वेटर/वेटरेसको प्रतिस्पर्धा, भलिबल, नृत्य र डोरी तान्ने प्रतियोगिता पनि हुने उनले बताए।अध्यक्ष गिरीले फागुन ३ गतसम्म चल्ने फुड फेस्टिबलमा ३ करोड रुपैयाँसम्म कारोबार हुने र दैनिक ५ हजार जना पर्यटक आगमन हुने अनुमान गरिएको बताए।

‘यसले सुस्ताएको पर्यटन व्यवसायलाई गतिशीलता प्रदान गर्छ। सम्पूर्ण पर्यटन व्यवसायीमा उमंग र उत्साह थप्छ,’ गिरीले भने, ‘हाल देखा परेको आर्थिक मन्दीले थकित र त्रसित व्यवसायीको मानसिकतालाई पुनर्ताजकी गर्छ।’ रेवान महिला समूह, क्षेत्रीय होटेल संघ नेपाल सौराहा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था यसका सह-आयोजक हुन्।फेस्टिबलमा टिकटबाट भएको आम्दानीले सौराहाको पर्यटन मार्ग सौन्दर्यीकरण गर्ने संयोजक रिमालले भनाइ छ।

SHARE