सडकबाटै सरकार सञ्चालन गर्ने उज्यालो नेपालको घोषणा

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आवश्यक परे सडकबाटै सरकार सञ्चालन गर्ने बताएका छन्।

बुधबार आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले जनताका मुद्दा सम्बोधन गर्न परम्परागत शैलीभन्दा फरक ढंगले अघि बढ्ने संकेत गरे। उनले सरकार जनताको नजिक हुनुपर्ने भन्दै सत्तालाई सडकसँग जोडेर सञ्चालन गर्ने अवधारणा अघि सारे।

“हामी जनताबाट टाढा बसेर शासन गर्ने पक्षमा छैनौं,” घिसिङले भने, “आवश्यक परे सडकमै बसेर पनि सरकार सञ्चालन गर्छौं।”

उनले देशमा सुशासन कायम गर्न र जनताको विश्वास जित्न नयाँ अभ्यास आवश्यक रहेको बताए। घिसिङले परम्परागत राजनीतिक संस्कारले जनअपेक्षा पूरा गर्न नसकेको आरोप पनि लगाए।

उज्यालो नेपाल पार्टीले आगामी दिनमा जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै वैकल्पिक राजनीतिक अभ्यास अघि बढाउने जनाएको छ।