‘नो केबलकार’ पक्षधरको बन्दले पूर्वको जनजीवन प्रभावित

मुकुम्लुङ (पाथीभरा)सम्म पुग्ने केबलकार निर्माण रोक्नुपर्ने मागसहित आन्दोलनरत संघसस्था र समूहले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । आन्दोलनकारीले सडक ठप्प पारेका छन् भने बजारमा समेत बन्दको प्रभाव देखिएको छ।

माघ १० गते आन्दोलनरत समूहलाई सशस्त्र प्रहरीले गोली चलाएको विरोधमा माघ १४ गतेदेखि मेची राजमार्ग र तमोर करिडोरमा यातायात अवरुद्व गर्दै आएका आन्दोलनरत समूहले आइतबार अरुण पूर्वका ९ जिल्ला बन्दको आह्वान गरेका हुन् ।

बन्दका कारण ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी र धनकुटा लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । यस क्षेत्रका मुख्य राजमार्गसँगै सहायक र भित्री सडकमा समेत बिहानैदेखि गाडी गुडेका छैनन् ।

पाथीभरा मन्दिरमा केबलकार निर्माण गर्ने ठेक्का पाएको प्राइभेट लिमिटेड कम्पनीले काम सुरु गरेपछि त्यो क्षेत्र अशान्त बनेको हो । पछिल्लो समय केबलकार निर्माण प्रक्रियालाई सघाउन तल्लो फेदी नजिक सशस्त्र प्रहरीको टुकडी स्थापना भएपछि पटक–पटक झडप भएका छन् ।

आदिवासी जनजाति महासंघ, किराँत याक्थुङ चुम्लुङ, १ नम्वर प्रदेश पुनः नामाङ्कन संघर्ष समिति लगायतका संघ संस्था केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलनमा छन् । केबलकार निर्माण गर्दै प्रकृतिमाथि दोहन हुनका साथै त्यहाँको सांस्कृतिक सौन्दर्य गुम्ने आन्दोलनकारीको भनाइ छ ।

SHARE