परराष्ट्रमन्त्री शिशिर खनाल ले सरकारले प्रधानमन्त्री बालेन शाह को भारत भ्रमणबारे सैद्धान्तिक सहमति दिइसकेको बताएका छन्।
नवौं हिन्द महासागर सम्मेलनका क्रममा हाल मौरिसस मा रहेका मन्त्री खनालले भारतीय अनलाइन WION सँगको कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले बधाई सन्देशसँगै भ्रमणको निम्ता पठाएको र त्यसलाई नेपाल सरकारले सैद्धान्तिक रूपमा स्वीकार गरिसकेको जानकारी दिए।
उनका अनुसार भ्रमणको मिति र औपचारिक कार्यतालिका भने अझै तय भइसकेको छैन। “प्रधानमन्त्रीज्यूले निमन्त्रणा स्वीकार गर्नुभएको छ, तर समय र मिति हाम्रा संयन्त्रहरूले निर्धारण गर्नेछन्,” खनालले भने।
खनालले चुनावपछिको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहसँग संवाद गरेको पनि बताए। त्यसयता दुई देशबीच विभिन्न तहमा छलफल भइरहेको उनको भनाइ छ।
मौरिससमै भारतीय विदेशमन्त्री एस. जयशंकर सँग भेटवार्ता भएको उल्लेख गर्दै उनले द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको बताए। “नयाँ सरकारको रूपमा हाम्रो प्राथमिकता तय गर्ने विषयमा मुख्य रूपमा कुरा भयो,” उनले भने।
नेपाल–भारतबीच करिब ४० वटा द्विपक्षीय संयन्त्र सक्रिय रहेको उल्लेख गर्दै मन्त्री खनालले पहिले आन्तरिक प्राथमिकता निर्धारण गरेर त्यसपछि उच्चस्तरीय भ्रमण अघि बढाउने समझदारी भएको जानकारी दिए।
यद्यपि, परराष्ट्रमन्त्रीको उक्त अभिव्यक्तिबारे नेपालको परराष्ट्र मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयले औपचारिक पुष्टि गरेका छैनन्। प्रधानमन्त्रीको सचिवालयले भने यस विषयमा आफूहरू अनभिज्ञ रहेको प्रतिक्रिया दिएको छ।









