भावना बनिन् कौशी क्विन पोखरा

भावना रानाभाटले कौशी क्विन पोखरा-२०८० को उपाधि जितेकी छिन् ।पोखरा महानगरले आयोजना गरेको प्रतियोगितामा उनले १८ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।विजेता रानाभाट वडास्तरीय कृषि सञ्जाल पोखरामा ६ मा आबद्ध छिन् । उनले उपाधिसँगै  १५ हजार रुपैयाँ, कौशी क्विनको ताज, कप र प्रमाण पत्र समेत हात पारिन् ।

प्रतियोगितामा पोखरा ७ की हरिकुमारी श्रेष्ठ उपविजेता भएकी छन् । यस्तै पोखरा ८ की कान्तिकुमारी अधिकारी तेस्रो र पोखरा १७ की गायत्री अर्याल सान्त्वना भइन् । उनीहरूलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ हात पारे ।

प्रतियोगितामा पोखरा महानगरभित्र कौशी खेतीमा संलग्न १९ जना कौशी कृषकहरूले भाग लिएका थिए ।यस्तै शनिबार नै भएको वडास्तरीय कौशी बाली प्रतियोगितामा पोखरा वडा नं‍‍ ८ प्रथम भएको छ । प्रतियोगितामा कृषि सञ्जाल पोखरा १७ दोस्रो, पोखरा ७ तेस्रो र पोखरा ९ सान्त्वना भएका छन् ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले कौशी करेसा खेतीमा संलग्न कृषकहरूको हौसलाका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

उनले पोखरा नगर क्षेत्रमा कौसी करेसा खेती गर्ने कृषकहरूका लागि मल, बिउ र तालिम लगायत उपलब्ध गराउँदै आएको बताए ।प्रतियोगितामा विजेताहरूलाई पुरस्कार प्रदान गर्दै नगर प्रमुख धनराज आचार्यले तरकारीको आयातलाई प्रतिस्थापन गर्न यस प्रकारको गतिविधि निकै प्रभावकारी हुने दाबी गरे ।

पोखरा महानगरपालिकाको सहरी वडाका करिब ३० हजार घरधुरीमा कौशी खेती गरिँदै आइएको मेयर आचार्यले जानकारी  दिए । ‘यसले ३० हजार परिवारलाई विशेष परिस्थिति बाहेकको अवस्थामा तरकारीमा आत्मनिर्भर बनाएको छ नै अर्ग्यानिक उत्पादनको प्रयोगले स्वास्थ्यमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको छ’, उनले भने ।

कृषिजन्य उत्पादनमा महानगरपालिकालाई आत्मनिर्भर बनाउने कार्यमा कृषकहरूको उल्लेखनीय भूमिका रहने बताउँदै  उनले कृषियोग्य भूमिलाई बाँझो नराख्न र सम्भव भएसम्म कौशी र करेसाहरूमा समेत तरकारी लगाउन आग्रह गरे ।महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले कौसी करेसा खेतीले पोखराको आर्थिक विकासमा मत्वपुर्ण टेवा पुगेको बताइन् ।क्लिन सिटी ग्रिन सिटीको अवधारणालाई सार्थक बनाउन कौसी करेसा कृशहरूको भूमिका उल्लेखनीय रहने उनको भनाइ थियो ।

SHARE