९० औं तामाङ पहिचान दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौँ — तामाङ भाषा, कला, संस्कृति, इतिहास र ज्ञानका विविध पक्षमा विचार–विमर्श गर्दै आज ९० औं तामाङ पहिचान दिवस मनाइँदैछ। वि.सं. १९८९ भदौ ६ गते तत्कालीन प्रधानमन्त्री भीम शमशेरले विभिन्न नामले चिनाइने समुदायलाई आधिकारिक रूपमा ‘तामाङ’ भनेर लेख्न–लेखाउन सनद जारी गरेपछि सो दिनलाई स्मरणस्वरूप तामाङ समुदायले प्रत्येक वर्ष मनाउँदै आएका छन्।

यस अवसरमा बौद्धस्थित तामाङ राष्ट्रिय पुस्तकालयमा सातौं तामाङ ज्ञान महोत्सव सुरु भएको छ। तामाङ न्हाङखोर, तामाङ डाजाङ र पुस्तकालयको संयुक्त आयोजनामा भएको तीन दिने महोत्सवमा भाषा, शिक्षा, कला, संस्कृति, समाज र लोकसाहित्यबारे १३ कार्यपत्र प्रस्तुत हुँदै अन्तरक्रिया भइरहेको छ।

पहिलो दिन विभिन्न अनुसन्धानकर्ता र विद्वानहरूले तामाङ भाषा, साहित्य, समाज र प्रविधि सम्बन्धी कार्यपत्र प्रस्तुत गरे भने दोस्रो दिन कला, मधेश बसाइँ, मृगौला बेचबिखन र जातीय विभेदमा तामाङ समुदायको भोगाइबारे छलफल गरियो। सोमबार ‘तामाङ मुक्ति आन्दोलनको बाटो’ शीर्षकमा विमर्शसहित महोत्सव सम्पन्न हुनेछ।

सन् २०१५ (वि.सं. २०७२) देखि सुरु भएको तामाङ ज्ञान महोत्सव कोरोना महामारीका कारण भर्चुअल रूपमा पनि सम्पन्न भएको थियो। आयोजक तथा विद्वानहरूले महोत्सवले तामाङ जातिको ज्ञान र पहिचानलाई नयाँ पुस्तामा संरक्षण र विस्तार गर्ने महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

SHARE