रुसको २४ घण्टामा सबैभन्दा ठूलो हवाई हमला, युक्रेनका विभिन्न सहर प्रभावित

रुसले युक्रेनमाथि पछिल्लो २४ घण्टामा अहिलेसम्मकै ठूलो हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। मध्यपूर्वमा जारी तनावबीच कूटनीतिक वार्ता कमजोर बन्दै गइरहेका बेला भएको यस आक्रमणले युद्धको तीव्रता अझ बढेको संकेत गरेको छ।

बिबिसीका अनुसार रुसले २४ घण्टामा ९४८ वटा ड्रोन प्रहार गरेको छ। स्थानीय समयअनुसार मंगलबार बिहानदेखि मात्रै ५५६ ड्रोन प्रहार गरिएको युक्रेनी पक्षले जनाएको छ। मंगलबार दिउँसो गरिएको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन्।

युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत ल्भिभस्थित १६औं शताब्दीको बर्नार्डिन मठमा समेत क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। त्यस्तै इभानो-फ्राङ्किभ्स्क क्षेत्रमा रहेको एक प्रसूति अस्पताल पनि आक्रमणको निशानामा परेको छ।

यसअघि राति गरिएको छुट्टै आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो। उक्त आक्रमणमा ३९२ ड्रोन र ३४ मिसाइल प्रहार गरिएको युक्रेनले जनाएको छ।

ल्भिभ क्षेत्रमा सार्वजनिक भिडियोहरूमा आवासीय भवनमा आगलागी भएको र कम उचाइमा उडिरहेको ड्रोन भवनमा ठोक्किएको दृश्य देखिन्छ। ल्भिभ क्षेत्रका प्रमुख मक्सिम कोजित्स्कीका अनुसार उक्त आक्रमणमा ३२ जना घाइते भएका छन्।

इभानो-फ्राङ्किभ्स्क सहरमा दुई जनाको मृत्यु हुनुका साथै एक ६ वर्षे बालकसहित चार जना घाइते भएका छन्। पश्चिमी सहर टेर्नोपिलमा पनि आक्रमण भए पनि मानवीय क्षति नभएको जनाइएको छ। मध्य युक्रेनको विनित्सिया सहरमा भने एक जनाको मृत्यु र १३ जना घाइते भएका छन्।

युक्रेनी वायुसेनाले अधिकांश ड्रोन र मिसाइल खसाल्न सफल भएको दाबी गरे पनि देशभरका विभिन्न स्थानमा प्रत्यक्ष प्रहार भएको स्वीकार गरेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियो सम्बोधनमार्फत आक्रमणको परिमाणले रुसले युद्ध अन्त्य गर्ने कुनै मनसाय नरहेको स्पष्ट देखिएको बताएका छन्। यद्यपि, यसबारे रुसको सेनाले सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन।

सन् २०२२ फेब्रुअरीदेखि जारी युद्धका क्रममा यसपटक पश्चिमी युक्रेनका सहरहरू पनि व्यापक रूपमा प्रभावित भएका छन्, जुन यसअघि तुलनात्मक रूपमा कम प्रभावित थिए।

यसैबीच, रुसको कुर्स्क क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको त्यहाँका गभर्नरले बताएका छन्।

अमेरिकी मध्यस्थतामा शान्ति वार्ताको प्रयास जारी रहे पनि पछिल्ला अन्तर्राष्ट्रिय तनावका कारण वार्ता प्रभावहीन बन्दै गएको देखिएको छ।